साफ यु-२० च्याम्पियनसीपः श्रीलंकामाथि नेपालको फराकिलो जित
थानकोट ।
बङ्गलादेशमा जारी साफ यु-२० च्याम्पियनसीप अन्तर्गत दोश्रो राउण्डको पहिलो खेलमा श्रीलंकामाथि नेपालले फराकिलो जित हात पारेको छ ।
बिहीबार अपरान्ह सम्पन्न खेलमा नेपाल ७-० गोलले विजयी भयो ।
नेपाललाई जित दिलाउन समीक्षा मगरले दुई गोल गरिन् ।
पूर्णिमा राई, कुशुम खतिवडा, सरिता कुमारी र बिर्सना चौधरीले समान एक गोल थपे । यस्तै, नेपालले अर्को एक गोल भने श्रीलंकाका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।
प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । जितसँगै चार खेलबाट नौ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा कायमै छ । नेपालभन्दा माथि रहेको बंगलादेशको पनि समान नौ अंक नै छ ।
नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा आत्मसात गरेको छ ।
नेपालले यसअघि पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो ।
दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो ।













