साफ यू-२० महिला च्याम्पियनसिपः आज नेपाल र भुटानबीच खेल हुने तालिका
थानकोट ।
बङ्गलादेशमा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटानबीच खेल हुने तालिका रहेको छ ।
यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि शुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका चार खेलमा तीन जितसहित ९ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ ।
नेपालले श्रीलंकाविरुद्ध भएको दुवै खेलमा समान ७-० गोल अन्तरले हराएको छ भने भुटानलाई ६-१ ले पराजित गरेको थियो । त्यस्तै, बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
त्यसैगरी, भुटानले भने ४ खेलमा एक जित हासिल गरेको छ ।
भुटानले श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो भने बंगलादेशसँग ४-१ र ३-० को हार बेहोरेको थियो भने नेपालसँग ६-१ ले हार बेहोरेको थियो ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्नेछ ।
यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाइँदैछ ।
हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुनेछ ।
यस प्रतियोगितामा नेपालले अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।













