एसइई एक्सलेन्स अवार्डबाट चन्द्रागिरिका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी सम्मानित

Thankot Times

थानकोट । 

निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन)को चन्द्रागिरि नगर समितिले गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ठ नतिजा हासिल गर्ने नगरका संस्थागत विद्यालय, ती विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थी र अभिभावकहरूलाई सम्मान गरेको छ । 

शनिबार सतुङ्गलस्थित आँगन रिसेप्सनमा आयोजित एक समारोहका बीच चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नगरको सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, प्याब्सन काठमाडाैंका अध्यक्ष नवराज भट्ट लगायतले उनीहरूलाई सम्मान गरेका हुन् । 

सम्मानित हुनेहरूमा प्याब्सनसँग आबद्ध माध्यमिक शिक्षा परीक्षा (एसइई) – २०८१ मा सहभागी भएका ३२ वटा विद्यालय, ती विद्यालयमा सर्वोत्कृष्ठ नतिजा प्राप्त गर्ने ४६ जना विद्यार्थी एवं अभिभावक र ती विद्यालयमा कार्यरत ३१ शिक्षक तथा कर्मचारीहरू रहेका छन् ।

चन्द्रागिरि नगरपालिका क्षेत्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) – २०८१ मा सहभागी भएका परीक्षार्थी मध्ये ७ जनाले ४.० जीपीए प्राप्त गरेका थिए ।

अवार्ड वितरण कार्यक्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नगरको सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, नगरका शिक्षा शाखा निर्देशक सुजनराज खनाल, प्याब्सन काठमाडाैंका अध्यक्ष नवराज भट्ट, प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष सरोज महर्जन, सल्लाहकारहरू दयाराम थापा, दुर्गालाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । 

प्याब्सनले विगत २५ वर्षदेखी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयहरूलाई सम्मान समारोह आयोजना गरि सम्मान गर्दै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *