केही स्थानमा आज भारी वर्षाको पूर्वानुमान
थानकोट ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । देशका केही स्थानमा आज भारी वर्षाको पूर्वानुमान छ ।
दिउँसो कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन देशभर साधारणतया बदली (बादल/वर्षा) रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
“देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस दिन राति पनि देशभर साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।
कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।












