त्रिभुवन राजपथको सुरु विन्दु कहाँबाट भन्ने विषयमा संघ सरकार नै अन्योलमा छ- मेयर गिरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले नेपालकै पहिलो सडक राजमार्ग त्रिभुवन राजपथको सुरु विन्दु (जिरो प्वाइन्ट) कहाँ भन्ने विषयमा संघ सरकार नै अन्योलमा भएको टिप्पणी गरेका छन् ।

शनिबार राति एक भर्चुअल छलफलमा सहभागी भएका मेयर गिरीले सो बताएका हुन् ।

राजमार्गको सुरुवाती विन्दु कहाँ भन्ने विषय टुंगो नलाग्दा यसले चन्द्रागिरि नगरपालिकाको प्रशासनिक कार्यमा समेत उल्झन देखिएको बताउँदै नगर प्रमुख गिरीले संघ सरकारले राष्ट्रिय राजमार्गको सुरुवाती विन्दु यहाँ नै हो भन्ने विषय टुंगो नलगाउँदा नगर क्षेत्रमा घरजग्गा किनबेच, नक्सा पास, मुआब्जा निर्धारण तथा वितरणमा समेत प्रत्यक्ष प्रभाव परेको बताए । साथै, उनले राजमार्गको सुरुवाती विन्दुका विषयमा संघ सरकारका मातहतका निकाय तथा मन्त्रालयहरूमा नगरपालिकाका तर्फबाट निरन्तर स्पष्टताका लागि ध्यानाकर्षण भइरहेको जानकारी दिए ।

सुरुमा थानकोट, त्यसपछि त्रिपुरेश्वरमा त्रिभुवन राजमार्गको सुरुवाती विन्दु भनिएको स्मरण गर्दै मेयर गिरीले भने काठमाडाैंमा अरनिको राजमार्ग र त्रिभुवन राजपथको सुरुवाती विन्दुको लामोसमय देखीको विवाद यथासक्य निर्क्याैल नभए यसले स्थानीयमा थप नैराश्यता बढाउनेछ ।

विभिन्न व्यवहारिक र यथोचित कारण देखाउँदै आफुहरूले कार्यपालिका बैठकबाटै नगर क्षेत्रभित्र पर्ने त्रिभुवन राजपथको मापदण्ड २५ मिटरबाट ११-११ मिटर कायम गर्ने निर्णय गरेको जानकारी दिँदै उनले भनेका छन सो निर्णय कार्यान्वयनका लागि काठमाडाैं उपत्यका मेयर्स फोरममा समेत ध्यानाकर्षण गराइनेछ । फोरमको बैठक अर्को महिना ललितपुरको गोदावरी नगरपालिकामा बस्ने सो फोरमका महासचिव समेत रहेका मेयर गिरीको भनाइ छ ।

कलंकीदेखि सिस्ने खोलासम्मको सडक ११-११ मिटरको कायम गर्ने चन्द्रागिरि नगरको निर्णय

यस्तै, नदी किनारको मापदण्डका विषयमा चन्द्रागिरि नगरमा तीनवटा मापदण्ड बनाइएको मेयर गिरीको भनाइ छ ।

उनका अनुसार खोलाको बहाव अनुसार चन्द्रागिरि नगरको विष्णुदेवी मन्दिरदेखी वाडभञ्जाङसम्म तीनवटा मापदण्ड कायम गरिएका छन् । जसअनुसार बल्खु पुलदेखी विष्णुदेवी मन्दिरसम्मको क्षेत्रमा खोलाको बहाव १२ मिटर कायम गरिएको छ ।

यस्तै, बल्खुपुल देखी त्रिवेणीधामसम्म खोलाको बहाव क्षेत्र १० मिटर कायम गरिएको छ । त्रिवेणी धामदेखी वाडभञ्ज्याङसम्म खोलाको बहाव क्षेत्र ६ मिटर कायम गरिएको छ ।

अभियन्ता राजाराम तण्डुकारले संयोजन गरेको काठमाडाैं उपत्यकाको नदी किनारको मापदण्ड विषयक सो भर्चुअल संवादमा मेयर गिरीले स्थानीयको उठीबास लाग्ने गरी नदी किनारको मापदण्ड कार्यान्वयमा ल्याइनु सर्वथा न्यायोचित हुन नसक्ने धारणा राखे ।

त्रिभुवन राजपथको ११ मिटर मापदण्डको पत्र लिएर चाक्सीबारी पुगे चन्द्रागिरिका जनप्रतिनिधि

अर्को प्रसङ्गमा मेयर गिरीले चन्द्रागिरि नगमा हाल कार्यान्वयनको चरणमा रहेको घर तथा सडक पहिचानको जीआइएस जीपीएस प्रविधिको नम्बरप्लेटमा त्रिभुवन राजपथ सडक ठेगाना लेखिएका नम्बरप्लेट यथासिघ्र सच्याउने बताए। उनले भनेका छन त्रिभुवन राजपथ सडकको सट्टा अब कलंकी-नागढुङ्गा पिपलामोड सडक लेख्ने विषयमा छलफल भएको छ, आगामी मंगलबार बस्ने कार्यपालिका बैठकले यस बारेमा निर्णय गर्नेछ । नगर क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्गका सन्दर्भमा चन्द्रागिरि नगरले साउन २७ गते बस्ने कार्यपालिका बैठकबाट थप निर्णय हुने समेत मेयर गिरीले सो संवादमा जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *