चन्द्रागिरि प्याब्सन पनि आन्दोलनमा, ज्ञापनपत्र बुझाउनेदेखि विद्यालय बन्दसम्मको कार्यक्रम घोषणा
थानकोट ।
देशभरका निजी तथा आवासीय विद्यालय संघ प्याब्सन तथा एन प्याब्सनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि सम्बन्धी प्रस्तावित नियमावलीको विरोधमा देशव्यापी संयुक्त आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।
विज्ञप्तीमा उल्लेख भए अनुसार पत्रकार र स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै विद्यालय बन्दसमेत हुने कार्यक्रम हुनेछ।
विज्ञप्तीमा उल्लेख छ, भाद्र १ गते प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई, भाद्र २ गते राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यलाई ज्ञापन पत्र बुझाइनेछ।
त्यसैगरी, भाद्र ३ देखि ५ गतेसम्म पालिका, जिल्ला र प्रदेशस्तरीय समितिहरूको आन्दोलन तयारी बैठक बस्नेछ। आन्दोलन, सचेतना कार्यक्रम, ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया र छलफलका माध्यमबाट कार्यान्वयन गरिनेछ।
प्याब्सन तथा एन प्याब्सनका केन्द्रीय कार्यसमितिका अध्यक्षहरूले सबै तहका समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
विरोध कार्यक्रम अन्तर्गत बिहीबार देशभरका प्याब्सनका स्थानीय ईकाइहरूले सम्बन्धित स्थानीय तहका शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका छन् ।
जसअनुसार चन्द्रागिरि नगरमा समेत प्याब्सनका प्रतिनिधिले बिहीबार चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा ज्ञापन पत्र बुझाएका हुन् ।

















