नागढुङ्गा सुरुङमार्ग सञ्चालन निर्देशिकाः पैदल यात्री, दुई पांग्रे सवारी, इन्धन ट्यांकरलाई प्रवेशमा रोक
थानकोट ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग सञ्चालनका लागि निर्देशिका जारी गरेको छ । ५ पृष्ठको सो निर्देशिकामा सुरुङ मार्ग सञ्चालनमा आएपछि पालना गर्नुपर्ने नियम लगायतका विषय समावेश छन् ।
जसअनुसार सुरुङ मार्गको सडकमा सवारीसाधनले अधिकतम वेग (स्पीड) ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हुँइकिन पाउनेछन् ।
निश्चित स्थान बाहेक सवारीसाधनले ओभरटेक गर्न नपाउने नियम समेत सो निर्देशिकामा उल्लेख छ ।
यस्तै हर्नको प्रयोग, सवारी साधन रोक्न नहुने, लगायतका विषयले समेत निर्देशिकामा स्थान पाएको छ ।
सुरुङ मार्गमा पैदलयात्रीको प्रवेश निषेध तथा दुई पाँग्रे र तीन पाँग्रे सवारीसाधनलाई प्रवेशमा राेक लगाउने विषय साे निर्देशिकामा उल्लेख छ।
यस्तै, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, लम्बाई १८ मिटर, चाैडा ई २.५ मिटर र उचाई ४.७५ मिटर भन्दा अग्ला सवारी साधनलाई समेत सुरुङ मार्गमा प्रवेश गर्न राेक लगाइने छ ।
निर्देशिकामा उल्लेख भएका बुँदा पालना नगर्ने सवारी साधनलाई सो सडक यात्रामा प्रतिबन्ध लगाउने व्यवस्था समेत रहेको जनाइएको छ ।
काठमाडाैंको चन्द्रागिरि नगर र धादिङको धुनिवेशी नगरमा हाल दुई हजार छ सय ६७ मिटर लामो सुरुङको अन्तिम फिनिसिङको कार्य जारी छ ।
काम सुरु भएको ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झाैतासहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए ।
तर, पटकपटक म्याद थपिँदा पनि सुरुङ मार्ग नयाँ मिति २०८२ कार्तिक महिनाबाट सञ्चालनमा सम्भावना क्षीण प्रायः भएपछि सरकारले आउँदो पुस महिनाबाट सुरुङ सञ्चालनको तयारी गरिरहेको छ ।
सुरुङ मार्ग उपभोगबापतको शुल्क निर्धारण
मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ।
त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।
यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।
नागढुङ्गा सुरुङ मार्गबाट काठमाडौं छिर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्ने

फाइल फोटो, जीवन नेपाल












