शिक्षा विधेयक पारितको तयारी, निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिए

Thankot Times

थानकोट ।

सरकार शिक्षा विधेयकलाई अन्तिम रुप दिन सिंहदरबारमा जुटिरहेका बखत निजी विद्यालय सञ्चालकहरू भने आन्दोलन गर्दै सडकमा उत्रिएका छन् ।

विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकका चार वटा संस्थाले आज (बिहीबार) काठमाडौँको माइतीघरमा विभिन्न पाँच बुँदे माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।

नयाँबानेश्वर चोकसम्म र्‍याली निकाली पुन माइतीघर फर्किएर कोणसभा गर्ने उनीहरूको तयारी छ । विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री नभएको उनीहरूको भनाइ छ । ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

विधेयकबाट पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्नेलगायतका माग निजी विद्यालयको छ ।

प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकबाट उक्त दुई व्यवस्था हटाउन माग राख्दै बिहीबारदेखि प्रदर्शन थालेका हुन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालय क्रमशः गैरनाफामूलक हुने र निजी विद्यालयले १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्नेमा सहमति जुटाएको छ ।

विधेयकलाई अन्तिम रुप दिन समितिमा बिहीबार पनि छलफल चलिरहेको छ । तर निजी विद्यालयका सञ्चालकहरूले भने समितिले जुटाएका सहमतिमा विमति राख्दै प्रदर्शनमा उत्रिएको हो ।

आन्दोलनमा चन्द्रागिरि नगरबाट समेत प्याब्सनसँग आवद्ध विद्यालयका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको चन्द्रागिरि प्याब्सनका अध्यक्ष सरोज महर्जनले जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *