तीनथाना विष्णुदेवीबाट हराएको सरस्वतीको मूर्ति छाउनी आइपुग्यो, कहिले आइपुग्ला तीनथाना ?
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट वि.संं २०३७ साल ताका हराएको सरस्वतीको मूर्ति टाउको विहिन अवस्थामा अमेरिकामा फेला परेपछि सो मूर्ति नेपाल ल्याइएको छ ।
नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचान गरी नेपाल फर्काउन पहल गर्दै आएको लस्ट आर्टस अफ नेपाल अभियानले सो मूर्ति अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको नीजि संग्रहमा रहेको जनाएको थियो । सो पश्चात उक्त मूर्ति विभिन्न सरकारी निकायसँगको समन्वयमा नेपाल आइपुगेको हो । हाल उक्त मूर्ति छाउनीस्थित राष्ट्रिय संग्राहलयमा सुरक्षित राखिएको छ ।
थानकोट टाइम्समा २०७९ चैत १७ सो मूर्ति अमेरिकामा फेला परेको समाचार प्रकाशित भएपछि चन्द्रागिरि नगरपालिकाले विभिन्न निकायहरूसँग समन्वय गरेपछि अमेरिकामा रहेका प्रेमगोपाल महर्जन लगायतको विशेष पहल एवं अग्रसरतामा सो मूर्ति गत मंसिर महिना नै नेपाल ल्याइएको हो । सो क्रममा अमेरिकाका विभिन्न संग्राहलय तथा व्यक्तिको स्वामित्वमा भएका मूर्ति नेपाल ल्याइएकोमा पाटनस्थित लक्ष्मी नारायणको मूर्ति सोही समय (मंसिर १८) मा प्रतिस्थापन गरिएको थियो ।
७ औं वा ८औं शताब्दीमा बनेको विश्वास लिएको सो मूर्ति १ सय ३० सेन्टीमिटर अग्लो थियो भने मूर्तिको टाउको काटिएको अवस्थामा फेला परेको छ जसको खुट्टाको टुक्रा अझैपनि विष्णुदेवी मन्दिर क्षेत्रमा देख्न सकिन्छ ।
अमेरिकामा फेला परेको मूर्तिको उचाइ ९१.५ सेन्टीमिटर रहेको छ ।

वास्तुविद् कार्ल प्रुस्चद्वारा वि.संं २०३२ साल ताका खिचिएको सो मूर्तिको तस्बिर “काठमाडौं उपत्यका, खण्ड २” र उल्रिच भोन श्रोडरको “नेपाली स्टोन स्कल्प्चर्स, खण्ड १ – हिन्दू, प्लेट नम्बर २ ई ४” मा प्रकाशित भएको थियो।
यस प्रस्तर मूर्ति सम्पदाको तस्बिर अस्ट्रियन वास्तुविद् कार्ल प्रुस्चले सन् १९७५ र नेपाली अन्वेषक शुक्रसागर श्रेष्ठले सन् १९८१ मा लिएका थिए । स्विस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम १ (प्लेट २२४)’ मा पनि नैकापको यो मूर्ति तस्बिर तथा विवरण उल्लेखित छ ।
सो मूर्ति निकाल्ने क्रममा भाँचिएको खुट्टाको भाग भने सोही अवस्थमा अहिले पनि विष्णुदेवी मन्दिर क्षेत्रमा छ र सो मूर्ति भएको स्थानमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ ।
अमेरिकामा फेला परेको सो मूर्तिको फोटो २० वर्षअघि सन् २००३ मा प्रकाशित प्रदर्शनीको क्याटलगमा “डेभिन प्रेजेन्स: आर्ट्स अफ इन्डिया र हिमालयज” शीर्षकमा समावेश भएको थियो ।
चन्द्रागिरि नगरपालिकाले उक्त सरस्वतीको मूर्ति छाउनी संग्राहलयबाट तीनथानास्थित यसअघि मूर्ति भएकै स्थानमा ल्याउन पत्रव्यवहार भइरहेको जनाएको छ ।
चन्द्रागिरि-१५ का वडाध्यक्ष घनश्याम लुइँटेलका अनुसार जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभागले पुरानो मूर्ति यथास्थानमा सुरक्षित रुपमा स्थापना गर्न सुरक्षित हुने प्रत्याभूति सुनिश्चित ठानेपछि मात्रै मूर्ति तीनथाना आउने बाटो खुल्नेछ ।
थानकोट टाइम्सले सो मूर्ति अमेरिकामा फेला परेको सम्बन्धमा यसअघि प्रकाशित गरेको समाचार पढ्नुहोस्ः
तीनथाना विष्णुदेवी परिसरबाट हराएको ८औँ शताब्दीतिरको सरस्वतीको मूर्ति अमेरिकामा !
‘बःखुस्थित सरस्वतीको प्रस्तर मुर्ति स्वदेश फर्काउन पहल सुरू’- नगरप्रमुख गिरी
४ दशकअघि तीनथानाबाट हराएको सरस्वतीको मुर्ति न्यूयोर्कमा, चन्द्रागिरि नगर भने अझै बेखबर !
विदेशबाट फिर्ता ल्याइँदै प्राचीन सम्पदा, तीनथानास्थित सरस्वतीको मुर्ति पनि फिर्ता आउला ?












