काठमाडाैं बाहिरी चक्रपथ निर्माणले गति लियो, पहिलो चरणमा सतुङ्गल-चोभारखण्डमा काम हुने

Thankot Times

थानकोट ।

२३ वर्षदेखि अन्योलमा रहेको काठमाडाैं बाहिरी चक्रपथ आयोजना निर्माण अघि बढाउन सरकारले नयाँ प्रयास थालेको छ ।

सरकारी प्रयास सार्थक भए काठमाडौँ उपत्यकालाई काँठ क्षेत्रबाट परिक्रम गर्नेगरी ५० मिटर फराकिलो नयाँ चक्रपथ तयार हुनेछ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले नयाँ मोडालिटीसहित पहिलो चरणमा चोभार–सतुङ्गलखण्ड निर्माण गर्ने योजना अघि सारेको हो ।

पुरानो अवधारणाबाट आयोजना बन्न सक्ने अवस्था नदेखिएपछि निर्देशित जग्गा विकास मोडालिटीमा सडक निर्माण गर्ने तयारी भइरहेको आयोजना प्रमुख ई. सुबास बस्नेतले जानकारी दिए ।

‘वि.सं. २०५८ देखि सरकारले जग्गा एकीकरण अवधारणाबाट बाहिरी चक्रपथ निर्माण गर्ने नीति लिएको थियो, यो मोडालिटीबाट बाहिरी चक्रपथ बन्ने आधार नै देखिँदैन, आधार भए त २३ वर्षसम्म बनिसक्नुपर्ने !’ बस्नेतले भने, ‘त्यसैले यतिबेला काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा १० ले निर्देशित गरेअनुरूप काम गर्ने तयारी गरिरहेका छौँ ।’

बस्नेतका अनुसार; प्राधिकरणले गत असारमा चोभार–सतुङ्गलखण्ड ६.६ किलोमिटर लम्बाई र ५० मिटर चौडाइमा निर्माण गर्नेगरी चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका प्रमुख तथा वडा अध्यक्षसित छलफल गरिसकेको छ । प्राधिकरणले अघि सारेको मोडालिटीमा स्थानीय सरकार सकारात्मक छ ।

अन्यत्रको तुलनामा चोभार–सतुङ्गल खण्ड व्यापारिक तथा आवतजावतका हिसाबले महत्वपूर्ण रहेको र सडकको क्षेत्राधिकारमा पनि ठूलो विवाद नभएको प्राधिकरणले जनाएको खबर हबमा समाचार छ । यो खण्डको १५ सय मिटरमा करिब २५० घर भत्काउनुपर्ने र त्यसका लागि आवश्यक मुआब्जा कुल लागतको एक प्रतिशतजति पर्न आउने अनुमान छ ।

विशाल परियोजना भएकाले प्राधिकरणले मुआब्जा बापतको रकम ब्यहोरेरै बाहिरी चक्रपथ अघि बढाइन खोजेको हो । ७२ किलोमिटर लम्बाइ प्रस्ताव गरिएको यो चक्रपथ बनाउन मुआब्जा समस्याको रूपमा नरहनेगरी काम गर्ने योजना बनाइएको पनि बस्नेतले बताए ।

बलम्बुलाई शून्य किलोमिटर मानेर सुरु हुने बाहिरी चक्रपथले काँठका अधिकांश बस्ती समेटेको छ । यसको दूरी ७१ दशमलब ९१ किलोमिटर थियो । चक्रपथलाई भित्री बस्तीहरूसँग पनि लिंक गर्ने उपत्यका विकास प्राधिकरणको योजना छ ।

बाहिरी चक्रपथभित्र काठमाडौंको नैकाप भन्ज्याङ, सीतापाइला, स्युचाटार, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, बालुवाटारको छेउ, टोखा-सरस्वती क्षेत्र, गोंगबु, हिलेडोल, मनमैजु, चपली, बामथली, नयाँपाटी, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वरलगायत बस्ती समेट्छ ।

त्यस्तै, इचंगुनारायणस्थित गैह्रीगाउँ, दौडिनेपानी, नेपालटार, सीतापाइलाको बाहिर क्षेत्र, हलचोकलगायत क्षेत्रबाट यो सडकखण्ड जानेछ । चोभारस्थित बागमती पुल, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ, तीनथाना, सतुंगललगायत क्षेत्र हुँदै बाहिरी चक्रपथ निर्माण हुनेछ ।

ललितपुरतर्फ ललितपुर महानगर, गोदावरी र महालक्ष्मी नगरपालिकालाई समेट्ने जनाइएको छ । लुभु-लामाटार, सुनाकोठी, ढोलाहिटी, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेँचो, बुङमती, खोकनालगायत क्षेत्रका बस्तीलाई समेट्ने गरी चक्रपथ निर्माण हुने उल्लेख छ । भक्तपुरको कमलविनायक, खरीपाटी, छालिङ, सुडाल, दधिकोट, दुवाकोटलगायत बस्तीलाई समेट्ने गरी आयोजना सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *