गगन थापाको भिडियो सन्देश- हामीबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्छु

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेनजी’ समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन् ।

बिहीबार (भदौ २६) सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत उनले समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

“बिग्रन दिन हुँदैन । सम्हालेर लिएर जानुपर्छ । संयमित भएर सोचिदिनुहोला,” उनले भनेका छन् ।

उनले आफूहरूबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने वाचा गरेका छन् । “बीचमा हामीबाट जे गल्ती, कमजोरी भएका छन्, त्यसका लागि माफी माग्छु । सुध्रने वाचा गर्छु । सच्याउँछौँ । तर, अहिलेको यो अवस्थालाई सम्हालने कुरामा अनुरोध गर्छु,” उनले भनेका छन् ।

उनले ‘जेनजी’को आक्रोशप्रति पनि माफी मागेका छन् । “म तपाईंहरूको फ्रस्टेसन बुझ्छु । मेरो ठाउँबाट जति गर्नुपर्थ्यो, त्यो गर्न नसेकोमा सबैभन्दा पहिले माफी माग्छु,” उनले भनेका छन् ।

थापाले यही भदौ २३ गते १९ जना मारिँदा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै घटनाप्रति माफी मागेका छन् ।

उनले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयपछि आफूले दबाब सिर्जना गर्दा पनि केही हुन नसकेको बताएका छन् । शीर्ष तीन नेता नहटाए अब देश चल्दैन भनेर आफूले भन्दै आए पनि त्यसानुसार हुन नसकेको उनले उल्लेख गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *