नागढुङ्गा सुरुङ मार्ग निर्माण गरिरहेको हाज्मा एन्डो कर्पाेरेशनद्वारा ३ अर्ब क्षतिपूर्ति दाबी

Thankot Times

थानकोट ।

नागढुंगा सुरुङमार्ग परियोजनाको निर्माणकार्य समयमा गर्न नसक्ने जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले ठेक्का रकमबाहेक क्षतिपूर्तिबापत करिब तीन अर्ब रुपैयाँ माग दाबी गरेको छ ।

परियोजना बनाउन सडक विभाग र कम्पनीबिच साढे १३ अर्ब हाराहारीमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले त्योबाहेक थप तीन अर्ब हाराहारी रकम क्षतिपूर्तिबापत माग दाबी गरेको हो ।
कम्पनीले केही महिनाअघि क्षतिपूर्तिबापत दाबी गरे पनि सरकारले दिन नमानेपछि अहिले त्यस सम्बन्धमा तीन सदस्यीय स्वतन्त्र डिस्प्युट कमिटीले अध्ययन गरिरहेको छ । उक्त कमिटीबाट आउने निर्णय दुवै पक्षले मान्नुपर्छ ।

परियोजना निर्देशक (प्रमुख) सौजन्य नेपालले निर्माण कम्पनीबाट तीन अर्ब हाराहारीमा क्षतिपूर्ति माग दाबी भएको स्वीकार गरे । ‘कम्पनीबाट करिब तीन अर्ब हाराहारीमा माग दाबी आएको थियो । विभागले अस्वीकार गरेपछि अहिले यो विषयमा स्वतन्त्र डिस्प्युट कमिटीले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘कमिटीको निर्णयको प्रतीक्षामा छौँ ।’
सुरुङ खन्ने क्रममा डिजाइनभन्दा बढी काम परेको थियो । ‘सोयल निशान’ अर्थात् माटोको तह, प्रकार र गुणको सिमाना वा चिह्न जनाउने संकेत परिवर्तन भएपछि डिजाइनभन्दा अतिरिक्त काम गर्नुपरेको थियो । यस्तै, विभिन्न समयमा स्थानीयको अवरोधले काम रोकिएको थियो । त्यसबेला कम्पनीका आफ्ना कामदार यतिकै बसेका थिए । यस्तै, यसबिचमा डलरको मूल्य पनि बढेको छ । ठेक्का सम्झौता हुँदा डलरको मूल्य एक सय ११ रुपैयाँ हाराहारी थियो । अहिले डलरको मूल्य एक सय ४१ रुपैयाँभन्दा माथि पुगेको छ । यी लगायतका घटना क्रमलाई आधार देखाउँदै कम्पनीले सोबराबरको दाबी दिएको हो । यसअघि कम्पनीले कोरोनाकालमा काम गर्न नपाएको, नेपालले साइट क्लियरेन्स नगरेको र आयातीत वस्तुमा भन्सार छुट नपाएकोलगायतका शीर्षकमा झन्डै नौ करोड रुपैयाँ क्षतिपूर्ति पाइसकेको छ । अहिले थप तीन अर्ब हाराहारीमा कम्पनीले क्षतिपूर्ति माग दाबी गरेको छ ।
तर, समयमा काम गर्न सकेको छैन कम्पनीले विभिन्न कारण देखाउँदै क्षतिपूर्ति माग गरेको कम्पनीले भने समयमा काम सम्पन्न गर्न सकेको छैन् । सुरुङमार्ग निर्माणका लािग सडक विभाग र कम्पनीबिच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो । त्यसको ४२ महिना अर्थात् अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने पहिलो सम्झौता थियो । तर, बिचमा कोरोना महामारीलगायतका कारण पनि आयोजनाको निर्माणकार्य प्रभावित भयो । त्यसपछि कोरोनाका कारण ८६ दिनसहित गरेर दुईपटक म्याद थप गरेर अप्रिल ०२४ सम्म पुर्‍याइएको थियो । तर, त्यस अवधिमा पनि कम्पनी सम्पन्न हुन सकेन । त्यसपछि कम्पनीलाई १८ महिना म्याद थप गरेर २५ अक्टोर ०२५ सम्म पुर्‍याइएको थियो, जुन म्याद सकिन अब २० दिन बाँकी छ । सम्झौताअनुसार कम्पनीले सुरुङमार्गको सबै काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्छ । तर, यो २० दिनमा सम्झौताअनुसारको सबै काम चुनौतीपूर्ण छ । अब परियोजनामा पहिरो नियन्त्रण, परीक्षण, टोल बुथ निर्माणलगायतका काम बाँकी नै छन् । यद्यपि, अन्य परियोजनाको तुलनामा यो परियोजनाको निर्माणकार्य द्रुत गतिमै भएको विभागका कर्मचारी बताउँछन् ।

सुरुङमार्गलाई आगामी जनवरी १ तारिखदेखि औपचारिक रूपमा खुला गर्ने तयारी छ ।

अन्तर्राष्ट्रियस्तरको सर्भिस प्रोभाइडर कम्पनीमार्फत जनवरीदेखि सुरुङ मार्ग सञ्चालनमा ल्याउने सडक विभागको योजना छ ।
नयाँ पत्रिकाबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *