विश्व कराते च्याम्पियनसिपः चन्द्रागिरिका स्वनिम, सानुमायाको प्रदर्शन कस्तो रह्यो ?

Thankot Times

थानकोट ।

नेपाली करातेकी सफल खेलाडी एरिका गुरुङ शनिबार विश्व कराते च्याम्पियनसिपका लागि छनोट हुन सकिनन् । फ्रान्सको पेरिसमा भइरहेको च्याम्पियनसिपको क्वालिफायरमा राउन्ड अफ १६ को खेलमा एरिका अस्ट्रियाकी प्रतिद्वन्द्वी लोरा जिलरसँग ५–२ स्कोरले पराजित भइन् । एरिकाले सुरुआती अग्रता लिनुका बावजुद खेल गुमाएकी थिइन् ।

उनका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार एरिकाले राम्रो खेलिरहेकी थिइन् । अग्रता पनि लिइरहेकी थिइन्त र अलिकति संयम गुमाउँदा एरिकाले अप्रत्यासित लोराको किक सामना गर्नुपर्‍यो । लोराले अग्रताको मौका पाइन् ।

यो खेल जितेकी भए एसियाडकी ऐतिहासिक रजत विजेता एरिकाले नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको काइरोमा हुने २७ औं कराते वर्ल्ड च्याम्पियनसिप खेल्ने थिइन् । विश्व च्याम्पियनसिपमा नेपालबाट एक खेलाडीको सहभागिता भने निश्चित भइसकेको छ । सानुमाया थिङ सोझै छनोट भएकी छन् । सानुमायाले महिला एकल कातामा भाग लिनेछिन् ।

पेरिस क्वालिफायरमा एरिकासहित नेपालका चार खेलाडीको सहभागिता जनाएका थिए । अब एक खेलाडीको प्रतिस्पर्धा आइतबार छ । सविना श्रेष्ठले महिला ५५ केजीमुनि तौल समूहमा खेल्नेछिन् । उनको तौलमा ४६ प्रतिद्वन्द्वी छन् । समूह ८ मा रहेकी सविनाले प्रारम्भिक चरणमा मोन्टेनेग्रोकी हेलेना ब्याकोभिच र चाइनिज ताइपेईकी ताइसुई–पिङ कूविरुद्ध खेल्ने तालिका छ ।

महिला ५० केजीमुनि वर्षा बुढामगर र पुरुष एकल काताका स्वनिम मानन्धर प्रारम्भिक चरणमै बाहिरिएका थिए । वर्षा आफ्नो तौलको प्रारम्भिक चरणमा नेदरल्यान्ड्सकी समिना यल्सिनसँग ३–०, स्पेनकी इन्साफ बेन्टमा सेरुख जेबारीसँग २–१ र साइप्रसकी आइरिन कोन्टोउसँग ३–० स्कोरले पराजित भइन् । समूह ८ मा रहेकी वर्षा अघिल्लो चरण पुग्न सकिनन् । वर्षाको तौलमा ३८ प्रतिस्पर्धी थिए ।

पुरुष एकल कातामा स्वनिमले एक खेल जितेका थिए । उनले आर्मेनियाका मिखाइल मखितरायनलाई पछाडि पारेका थिए । स्वनिमले ३७.९० अंक बटुल्दा मिखाइलले ३७.३० अंक बटुलेका थिए । फ्रान्सका थोमस केम्जविरुद्धको खेलमा स्वनिमले ३७.१० अंक बटुलेका थिए । उनीभन्दा बढी अंक ३८.८० बटुलेका थोमसले बाजी मारे । ४९ प्रतिस्पर्धी रहेकामा समूह ३ मा परेका थिए । उनको समूहबाट थोमस अगाडि बढेका थिए ।

महिला ६८ केजीमाथिको तौल समूहमा एरिकाले प्रारम्भिक चरणकै तीन खेल जितेर छनोटको नजिक पुगेकी थिइन् । उनले डल्लूकेएफमा आफूभन्दा माथिल्लो वरीयताकी स्लोभेनियाकी मारिया जिब्रेट जाला (३३औं वरीयता) लाई २–० ले, मलेसियाकी मिर्जा अमिरा सुहादा बिन्ती फैजललाई ६–० ले र ब्राजिलकी अनुभवी तथा डब्लूकेएफकी ४८ औं वरीयताकी ब्रेन्डा पेरेरालाई १–० स्कोरले हराएकी थिइन् । ३४ प्रतिस्पर्धी रहेकामा एरिका समूह ४ मा परेकी थिइन् । उनी आफ्नो समूहबाट विजेता हुँदै दोस्रो चरण पुगेकी थिइन् ।

नेपाल कराते महासंघबाट ‘हिमालयन वारियर’ को उपाधि पाएकी एरिकाले पछिल्लो दुई वर्षमा नेपाली करातेलाई मूल्यवान पदकहरू दिलाएकी छन् । उनले यसअघि नेपाली करातेले जित्न नसकेका पदकहरू जितेकी छन् । दुई साताअघि मात्र उनले मलेसियामा कराते वान प्रिमियर लिगमा स्वर्ण जितेकी थिइन् ।

पेरिस छनोटबाट हरेक तौल समूहका शीर्ष ६ स्थानका खेलाडीले काइरोको टिकट काट्ने छन् । छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउने छन् । दुई खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन् । विभिन्न १२ स्पर्धा समावेश छनोटमा ५ सय ४९ खेलाडीको सहभागिता छ ।

टोली प्रशिक्षकमा कुशल र व्यवस्थापकमा अमिर राना छन् । उनीहरूले पेरिसमै भएको प्रशिक्षक परीक्षामा सहभागिता जनाएका थिए ।

इकान्तिपुर


Leave a Reply

Your email address will not be published. Required fields are marked *