चन्द्रागिरि क्षेत्रमा आज बिहान निकै चिसो अनुभव गर्नुभयो कि ?
थानकोट ।
पछिल्लो समय दिनहुँजसो तापक्रम घट्दो क्रममा छ ।
चिसो बढ्दै गएको छ ।
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार (मंसिर २८) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो । आउँदा दिन तापक्रम थप घट्ने सम्भावना हुन्छ ।
सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम शनिबार (मंसिर २७) ५.३, शुक्रबार (मंसिर २६) ५.४ डिग्री थियो ।
आइतबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –२.१ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम शनिबार र शुक्रबार समान –४ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।













