चित्लाङ भ्युटावर उद्घाटन गर्न पुस ९ गते चन्द्रागिरि उक्लँदै मुख्यमन्त्री बानियाँ

Thankot Times

थानकोट ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङस्थित चन्द्रागिरि भञ्ज्याङमा निर्माण गरिएको भ्युटावर यही बुधबार (पुस ९) उद्घाटन गरिने भएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको उपस्थितिमा बुधबार भ्युटावर उद्घाटनको तयारी भएको थाहा नगरपालिका वडा नं. ९ चित्लाङले जनाएको छ । 

गत मंसिर २४ गते पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले भ्युटावरको संरचना थाहा नगरपालिकाका नगरप्रमुख विष्णु विष्टलाई हस्तान्तरण गरेका थिए ।

सो संरचना संचालनमा ल्याउन पर्यटन विकास आयोजना हेटौंडा र थाहा नगरपालिकाबीच आवश्यक सम्झौता भइसकेको जनाइएको छ।

सम्झौता अनुसार भ्युटावर संचालनबाट प्राप्त राजश्वको निश्चित हिस्सा बागमती प्रदेश सरकारलाई जानेछ।

बागमती प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६–२०७८) अन्तर्गत भ्युटावर निर्माणको काम अघि बढाएको थियो ।

उक्त परियोजनामा भ्युटावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ ।

परियोजनाको लागत दुई चरणमा मूल्य समायोजनसहित कुल पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *