के बालेनले काठमाडाैं क्षेत्र नंं १० बाट चुनाव लड्ने तयारी गरेका हुन् ?

Thankot Times

थानकोट ।  

गत आइतबार (पाैष १३) झिसमिसे अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ७ बुँदे समझदारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय चुनावमा होमिने निश्चित प्रायः भइसकेको छ । 

तर उनी कहाँबाट चुनाव लड्ने भन्ने विषयमा अझै स्पष्टता छैन्। उनका प्रतिस्पर्धी को हुन् भन्नेमा पनि सबैको चासो छ। बालेन र उनको समूह यस विषयमा अझै निष्कर्षमा पुगेका छैनन्।

बालेनका लागि सबैभन्दा उपयुक्त विकल्प मेयर निर्वाचित भएको काठमाडौं हो। उनका निकट साथीहरू काठमाडौंको जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लडे पनि बालेन जित्ने बताउँछन्। बालेनको घर काठमाडौंको सिनामंगलमा पर्छ, जुन निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ।

उनको टिमले बालेनका लागि अर्को विकल्प आफ्नै पुर्ख्यौली घर रहेको महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ पनि देखाएको छ। तर यो क्षेत्रबारे पर्याप्त छलफल भएको देखिँदैन्।

बालेनले झापा क्षेत्र नम्बर ५ मा निर्वाचन लड्ने विकल्पबारे पनि साथीहरूसँग छलफल गरिरहेका छन्। 

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई हराउन पाए रमाइलो हुने कुरा बालेनले आफ्ना निकटस्थसँग गर्ने गरेको उनीहरूको निकटस्थहरूले बताएका छन्। त्यसैले उनको टिमका सदस्यहरूले बालेनका लागि चुनाव लड्ने क्षेत्र झापा–५ रहेको बताउँदै आएका छन्। यसबारे बालेन र उनको टिमले पनि बुझ्ने प्रक्रिया थालिसकेका छन्।

कतै बालेनले काठमाडाैं क्षेत्र नं. १० बाट चुनाव लड्ने पो हुन कि भन्दै लख काट्नेहरूको जमात पनि बढिरहेको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *