नागढुंगा सुरुङमार्ग: २ प्रतिशत निर्माण कार्य बाँकी, चैत्रबाट परीक्षण सञ्चालनको तयारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिकामा निर्माण भएको राष्ट्रिय गाैरवको परियोजना नागढुंगा सुरुङमार्गको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको छ । सो सँगै आयोजनाले आगामी चैत (मार्चको अन्तिम) सम्ममा ‘ट्रायल अप्रेसन’ सुरु गर्ने तयारी गरेको छ ।
आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भइसकेको छ भने अब २ प्रतिशत काममात्र बाँकी छ । यस्तै सुरुङको पश्चिम पोर्टलको पहिरो रोकथामको काम र सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छान्ने काम सँगसँगै अघि बढाइने आयोजना प्रमुख नेपालको भनाइ छ ।
उनले भने, ‘पहिरो रोकथाम र सेवा प्रदायक छान्ने काम चैतसम्म सकिने अनुमान छ । त्यसपछि मार्चको मध्य वा अन्त्यतिर (चैत महिनाभित्रमा) ट्रायल अप्रेसन सुरु गर्ने तयारी गरिरहेका छौँ ।’
हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङमार्ग करिब २३ अर्ब लागत रहेको परियोजनामा १७ अर्ब १५ करोड सहुलियत ऋण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले दिएको थियो । निर्माण लागत र परामर्श खर्च बढेपछि दोस्रो पटक ५ अर्ब २७ करोड रुपैयाँ थप ऋण लिइएको छ ।
















