चन्द्रागिरिमा केभीआर च्यालेन्ज सम्पन्न, मिलन र सोनिया विजयी

Thankot Times

थानकोट ।

केभीआर समिट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरिकाकी सोनिया मार्टिन विजेता भएका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटर रेसमा मिलनले २ घन्टा २३ मिनेट २४ सेकेन्ड लगाए । नेपालकै लोकेन्द्र राई दोस्रो र दिवाकर बुढामगर तेस्रो स्थानमा रहे । लोकेन्द्रले २ घन्टा २६ मिनेट १६ सेकेन्ड र दिवाकरले ३ घन्टा ११ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरे ।

सोनियाले तीन घन्टा २८ मिनेट ९ सेकेन्डमा दौड पूरा गरिन् । उनले गत महिना तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् । एनी माइ वान ३ घन्टा ३२ मिनेट ५३ सेकेन्डबाट र दोस्रो र बेलायतकी सेली रेबेका ४ घन्टा ४ मिनेट ३३ सेकेन्डबाट तेस्रो स्थानमा रहे ।

१० किलोमिटर दौडमा पुरुषतर्फ स्विट्जरल्यान्डका सिमन डाल्चर १ घन्टा १८ मिनेट ४८ सेकेन्डबाट विजेता भए । नेपालका प्रेमबहादुर सुनुवारले ५ सकेन्डले पछाडि पर्दा दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । मिङ्मा ग्याल्सेन शेर्पा (१:३१.४३ सकेन्ड) तेस्रो स्थानमा रहे । सोही दुरीमा महिलातर्फ जापानकी मायुको आकुतागावा (१:२८.३८) पहिलो, बेलायतकी इलियाना मारिया ड्रापर (१:५७.१५) दोस्रो र अमेरिकाकी इरिका मिक्स ((२:०३.०८) तेस्रो भए । २५ किमि दौड मच्छेगाउँ, मातातीर्थबाट सुरु भएर चन्द्रगिरि केबलकार आधार स्टेसन, चन्द्रागिरिस्थित भालेश्वर मन्दिर, धापभञ्ज्याङ, बुद्ध स्तुप, मच्छेनारायाण मन्दिर हुँदै पुन: मच्छेगाउँमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा नेपालका ६६ र २४ विदेशी खेलाडीको सहभागिता थियो । विजेतालाई नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि नीरज श्रेष्ठले पुरस्कृत गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *