काठमाडाैं क्षेत्र नं. १० मा राजन केसीको विरासत कायम राख्न हिमाल कार्कीलाई कति सहज ?

Thankot Times

थानकोट ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं १० मा यसपटक नयाँ अनुहारहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाका २९ वडाहरू समेटिएको यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका १३ जनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदीप विष्ट र राप्रपाका बलराम थापाबाहेक अन्य सबै प्रमुख प्रतिस्पर्धीहरू प्रत्यक्ष निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन्।

यसअघि लगातार तीनपटक निर्वाचन जितेका निवर्तमान सांसद राजेन्द्रकुमार केसी (राजन केसी) ले यसपटक युवालाई अवसर दिने भन्दै उम्मेदवार नबन्ने घोषणा गरेपछि नेपाली कांग्रेसले स्थानीय कार्यकर्ता एवं जिल्ला सदस्य हिमाल कार्कीलाई चुनावी मैदानमा उतारेको छ।

कार्कीको उम्मेदवारीले कांग्रेसको विरासत जोगाउने चुनौती उनकै काँधमा सुम्पिएको छ।

यस्तै नेकपा (एमाले) ले यसपटक अनुभवी मजदुर नेता एवं केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

श्रेष्ठ यसअघि समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेको भए तापनि प्रत्यक्षतर्फ भने यो उनको पहिलो उम्मेदवारी हो।

त्यसैगरी भर्खरै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले रुपा महर्जनलाई पहिलोपटक उम्मेदवार बनाएर नयाँ शक्ति प्रदर्शनको तयारी गरेको छ, उनी पनि संविधान सभा सदस्य हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट यस क्षेत्रका १३ उम्मेदवारमध्ये अघिल्लो निर्वाचनको प्रत्यक्ष अनुभव भएका एक्ला उम्मेदवारका रूपमा देखिएका छन्।

काठमाडौँ क्षेत्र नं १० मा सधैँजसो कांग्रेस र वामपन्थीदलहरूबीच कडा प्रतिस्पर्धा हुने गरेकोमा यसपटक पुराना हस्तीहरूको अनुपस्थिति र नयाँ प्रभावशाली अनुहारहरूको उपस्थितिले चुनावी नतिजा अझ अनपेक्षित र रोचक हुने विश्लेषकहरूको भनाइ छ।

यस निर्वाचन क्षेत्रमा ८३ हजार ३ सय एक जना मतदाता रहेका छन् । यस क्षेत्रअन्तर्गत चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ गरि दश वटा वडा, कीर्तिपुर नगरपालिकाको १० वटै वडा र दक्षिणकाली नगरपालिकाको ९ वटै वडा गरि २९ वटा वडा पर्दछन् । 

४७ मतदान स्थल रहेको काठमाडौं क्षेत्र नम्बर १० मा ९८ वटा मतदान केन्द्र रहनेछन् । २०७९ को चुनावमा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी पहिलो हुँदा नेकपा एमालेका हिमेश केसी दोश्रो, रास्वपाका प्रदिप विष्ट तेस्रो बनेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *