रास्वपा सभापति लामिछाने अस्पताल भर्ना
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।
खुट्टामा संक्रमण देखिएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा भर्ना गरिएको हो।
गत माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रमका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो।
सोही चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए।
चिकित्सकहरूले उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै राखेर निगरानी गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।
चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको सचिवालयले जनाएको छ।
पूर्ण स्वास्थ्य लाभपछि मात्र लामिछाने पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किनेछन्।
यसैबीच, अस्पतालमा उपचाररत अन्य बिरामी र प्रशासनलाई असहजता हुन सक्ने भन्दै सचिवालयले भेटघाटका लागि अस्पताल नआउन शुभचिन्तक तथा सर्वसाधारणमा आग्रह गरेको छ।
















