नेपाली कांग्रेसले बनायो १५औँ महाधिवेशनका लागि १५ समिति

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन गरेको छ ।

गठन भएका समितिहरूमा संस्थापनपक्षमा पछि आएका केन्द्रीय सदस्यहरूलाई पनि जिम्मा दिइएको छ ।

सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ ।

समितिमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, उमेश श्रेष्ठ, महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य छन् । सदस्य सचिवमा प्रताप पौडेल छन् । डिना, विश्वकर्मा १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकाहरूले १५औँ महाधिवेशनमा भाग लिएपछि केन्द्रीय सदस्यकै भूमिकामा पाउने भएपछि संस्थापन समूहमा आएका हुन् ।

डिना पूर्वसहमहामन्त्रीसमेत हुन् ।

त्यस्तै, आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमेश श्रेष्ठ रहेका छन् । सूचना–सञ्चार तथा प्रविधि समितिमा प्रवक्ता देवराज चालिसे, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा उदयशमशेर राणा र अतिथि स्वागत समितिमा डा. डिला संग्रौला पन्तलाई संयोजक तोकिएको छ ।

महाधिवेशन समारोहस्थल व्यवस्थापनमा काठमाडौं जिल्ला सभापति, प्रदेश तथा स्थानीय तहगत समन्वयमा बहादुरसिंह लामा, जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयम्‌सेवक व्यवस्थापनमा गणेश लामालाई संयोजक बनाइएको छ ।

लामापनि पछि मात्र संस्थापन समूहमा समावेश भएका केन्द्रीय सदस्य हुन् ।

भोजन व्यवस्थापनमा तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर र सांस्कृतिक-साहित्यिक संयोजनमा सीता गुरुङ संयोजक छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *