चन्द्रागिरिमा आजदेखि एचपीभी खोप अभियान सुरु हुँदै, हरेक विद्यालय पुग्नेछन स्वास्थ्यकर्मी
थानकोट ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान गत आइतबारदेखि देशभर जारी छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ ।
अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
यस्तै, गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ ।
डा. गौतमका अनुसार अहिलेको खोप अभियानमा झन्डै साढे ३ लाख बालिकालाई खोप लगाउने लक्ष्य छ ।
खोप बिभिन्न पालिकामा फरकफरक दिनमा हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ ।
एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने अध्ययनहरुले देखाएको छ ।
गएको वर्ष झन्डै १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो ।
अभियानमा ९४ प्रतिशतले खोप लगाएका थिए । पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण हो । यो भाइरसको २ सय भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् ।
नेपालमा हरेक वर्ष दुई हजार भन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।
चन्द्रागिरि नगरपालिकामा आज मंगलबारदेखि यस अभियान सुरु गर्न लागिएको चन्द्रागिरि नगरको स्वास्थ्य सेवा शाखाले जनाएको छ ।
यहाँ १ हजार ४ सय ३४ जनाले यस खोप अभियानमा सहभागिता जनाउने अपेक्षा गरिएको छ । नगरका हरेक विद्यालयमा स्वास्थ्यकर्मीहरू यस अभियानका लागि खटिनेछन् । साथै, नगरका सबै १९ वटै स्वास्थ्य संस्थामा फागुन १ गते यो खोप कार्यक्रम सञ्चालन हुनेछ । फागुन ४ र ५ गते भने प्राथमिक अस्पताल थानकोटमा खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
चन्द्रागिरि नगरमा कुन दिन कुन विद्यालयमा एचपीभी खोप अभियान सञ्चालन हुनेछ तालिका हेराै

















