मोटरसाइकल रुखमा ठोक्किँदा दुईजनाको मृत्यु
थानकोट ।
रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डको झाझपुलनजिकै आइतबार बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ ।
रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । गंगापिपराबाट गौर आइरहेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सिसौको रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने २२ वर्षीय पुनमदेवी साह छन् ।
गम्भीर घाइते भएका दुवैजनालाई गौर प्रादेशिक अस्पताल उपचार गर्नका लागि पठाइएको थियो ।
प्रहरीका अनुसार चालक जितेन्द्र साहको टाउको, मुख र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर भएर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो ।
त्यस्तै, पछाडि बस्ने पुनमदेवीको पनि टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

















