चन्द्रागिरिमा रास्वपाको घण्टी अभिवादनः शुभेच्छुक कुरेको कुर्यै, बालेन सवार मोटर कुदेको कुद्यै !

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार काठमाडौं उपत्यका केन्द्रित ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गरेको छ ।

बिहान पशुपतिनाथको दर्शन गर्दै गौशालाबाट कार्यक्रम सुरु भएको काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने गरी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले रोड शो गरेका हुन् ।

रवि-बालेन शनिबार बिहान काठमाडौं क्षेत्र नम्बर २, ३, ४ हुँदै भक्तपुरसम्म पुगेका थिए ।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’भन्ने मूल नाराका साथ रोड शो आयोजना भएको रास्वपाले जनाएको छ ।

पूर्वनिर्धारित तालिका अनुसार, चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुगेको थियो ।

यस्तै अपरान्ह सो रास्वपा टोली कीर्तिपुर हुँदै सतुङ्गल-थानकोट-नागढुंगा-नैकाप-कलंकी पुगेको थियो ।

कीर्तिपुर क्षेत्रमा गाडी माथि नै नाचगान गरेको रास्वपा शीर्ष नेतृत्व चन्द्रागिरि क्षेत्रमा भने कतै अडिएन्, उनीहरूको प्रतिक्षामा घण्टाैं सडकमा उभिएका शुभेच्छुकहरू फूलको गुच्छासमेत दिनबाट बञ्चित भएको देख्न सकिन्थ्यो ।

चन्द्रागिरिको नैकाप भञ्ज्याङमा रास्वपा कार्यकर्ताले घण्टी चिन्ह बनाएर शीर्ष नेतृत्वको पर्खिएपनि गाडीबाटै उनीहरू अघि हुँइकिएका थिए ।

उपत्यकाका सबै ठाउँ समेट्ने गरी दुई चरणका लागि तय भएको कार्यक्रम सामाखुसी, गोंगबु हुँदै वनस्थली चोकस्थित रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर समापन भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *