उपसभापतिलाई काठमाडाैं-९ बाट उठ्न प्रस्ताव गरेका चन्द्रागिरिका पोखरेल संसद् ‘छिर्ने’ संघारमा
थानकोट ।
२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय राजनीतिमा सरप्राइज बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडाैं क्षेत्र नं. ९ मा उमेदवार बनेका टेकबहादुर पोखरेल (प्रभुराम)ले नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठसँग ९९५ मतको पराजय व्यहोरे ।
आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा चौथो जित निकाल्ने क्रममा श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गरेका थिए भने पोखरेलले पहिलो प्रयासमै १० हजार ९६१ मत प्राप्त गरेका थिए ।
३ वर्षअघिको चुनाव स्मरण गर्दै पोखरेल भन्छन् मैले त्यो बखत यस क्षेत्रमा पत्याउनै नसकिने मत पाएँ, एक झमट बल गरेको भए त्यही बेला संसद् छिर्न पाउने रहेछु ।
निर्माण व्यवसायी समेत रहेका पोखरेलले यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः काठमाडाैं क्षेत्र नं. ९ रोज्ने मनस्थितिमा थिए ।
अघिल्लोपटक तीन अंकको मतान्तरमा पछि परेका पोखरेलले यसपटक जित्ने अभिलाषासहित पार्टी हाइकमाण्डमा इच्छा दर्शाए ।
यसअघि पार्टीमा केन्द्रीय गुनासो विभाग उपप्रमुख जिम्मेवारी पूरा गरेर हाल आर्थिक स्रोत व्यवस्थापन केन्द्रीय विभाग उपप्रमुख जिम्मेवारीमा रहेका पोखरेलले फागुन २१ मा हुने निर्वाचनमा उमेदवारी दिन ग्रिन सिग्नल पाइहाले ।
उमेदवार चयन गर्न सकस परिरहेको र दर्ताको तयारीका लागि समय घर्कनै लाग्दा विभिन्न राजनीतिक दलसँग पार्टी एकीकरण भएपछि संसदीय निर्वाचनमा शीर्ष नेताहरूले कहाँबाट उमेदवारी दिने भन्ने विषयमा गन्थन हुन थाल्यो ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालले काठमाडाैंमै चुनाव लड्ने इच्छा देखाए तर सबै निर्वाचन क्षेत्रमा आकांक्षीहरूको संख्या बाक्लो भएपछि उनी धादिङ जाने विचारमा थिए तर टेकबहादुर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रबाट लड्न ‘अफर’ गर्दै भने उपसभापतिज्यू काठमाडाैं क्षेत्र नं. ९ उक्लनुस्, म समानुपातिकमा बसाैंला ।
नभन्दै, पोखरेलले समानुपातिकमा नाम टिपाए, पार्टीको प्राइमरी चुनावमा शीर्ष क्रममा रहँदै खस आर्य (पुरुष) क्लस्टरको दशाैं स्थानमा रहे ।
निर्वाचन आयोगद्वारा रास्वपाको समानुपातिक बन्दसूची सार्वजनिक, पोखरेल शीर्ष १० मा
पार्टी उपसभापति डीपी अर्यालले काठमाडाैं क्षेत्र नं. ९ मा प्रत्यक्षतर्फ उमेदवारी दर्ता गराए । अब अर्याललाई भोट माग्न पोखरेलले कमाण्डरको भूमिका पाए । अर्थात् यस क्षेत्रमा निर्वाचन परिचाल कमिटिको जिम्मेवारी पोखरेलको काँधमा पर्यो ।
अन्ततः शनिबार झिसमिसेमा सम्पन्न प्रत्यक्ष तर्फको मतगणनामा अर्यालले नेपाली कांग्रेसकी उमेदवार नानुमैया बास्तोलालाई २९ हजार ६३३ मतान्तरले पराजित गरे । अर्यालले ३५ हजार ९३ मत ल्याए ।
बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरिन् ।
यो नै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतान्तरको जित हार हो ।
अर्यालले शनिबार बिहान समर्थकहरूको भव्य अभिनन्दनसँगै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाण पत्र बुझेका छन् ।
उनले प्रमाणपत्र बुझ्ने क्रममा निर्वाचन अधिकृत मनुका घिमिरेसँग मतगणनास्थलमै भने मेरो चुनावी अभियान सफल हुनुमा उहाँ (टेकबहादुर पोखरेल) को भूमिका अविस्मरणीय छ ।

प्रत्यक्षतर्फ चुनावी नतिजामा सुनामी ल्याएको रास्वपाले समानुपातिकतर्फ पनि पोल्टाभरि भोट ल्याउने लख काट्न थालिएको छ ।
यो समाचार तयार हुँदासम्म समानुपातिक तर्फ गणना भएको ७५७९२९ मतमध्ये रास्वपाले ३,९८,५३४ मत प्राप्त गरेको छ ।
समानुपातिकमा भोट बढ्ने क्रम जारी रहेसँगै चन्द्रागिरि नगरपालिका वडा नंं २ वाँडभञ्ज्याङ निवासी टेकबहादुर पोखरेल (प्रभुराम) संसद् भवनको संघार नजिकै पुगेको भन्दै शुभेच्छुकहरूले बधाई दिन थालेका छन् ।
समानुपातिकतर्फका उमेदवारको अन्तिम बन्दसूची प्रकाशित, चन्द्रागिरिका प्रभुरामसहित यी नामपनि सूचीमा















