पछिल्लो सात महिनामा नेपालीले लगाए १७ करोड रुपैयाँ बराबरको ‘सनग्लास’

Thankot Times

थानकोट ।

फेसनसँगै आँखाको सुरक्षाका लागि सनग्लास प्रयोग गर्नेको संख्या पछिल्ला वर्षहरूका बढ्दै गएका छन् ।

केवल फेसनका लागि मात्र नभएर सनग्लास मुख्यतः आँखाको सुरक्षा र आरामका लागि प्रयोग गर्ने गरेका छन् । घामका किरणले आँखामा असर पुर्‍याउने हुँदा सनग्लासको प्रयोग गरिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा सनग्लासको आयात बढिरहेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि माघसम्मको आयातको तथ्यांकअनुसार नेपालमा आइवेयर सामग्री मुख्यतः चीन र भारतबाट आयात हुने गरेको छ ।

यी दुई देशबाट सस्तो तथा विभिन्न डिजाइनका सनग्लास सहज रूपमा उपलब्ध हुने भएकाले बजारमा प्रभुत्व जमाएका पाइएको छ ।

साथै, थाइल्यान्ड, इटाली र यूएई जस्ता देशबाट पनि सीमित मात्रामा आयात हुने गरेको छ । पछिल्ला सात महिनामा विभिन्न मुलुकबाट कुल ६ लाख ५७ हजार ४७५ वटा सनग्लास आयात भएको छ । जसको आयतित मूल्य १७ करोड ९० लाख ७२ हजार हुन्छ । यसको राजस्व पाँच लाख दुई हजार ८६७ रुपैयाँ हुन्छ ।

चीनबाट सबैभन्दा बढी आयात
सनग्लास आयातमा चीनबाट मात्रै तीन लाख ६४ हजारभन्दा बढी परिमाण भित्रिएको छ । जसको आयातित मूल्य १४ करोड ३१ लाख ६५ हजार रुपैयाँ हुन्छ । यो तथ्यांकलाई हेर्दा सनग्लास आयात चीन अग्रस्थानमै छ । सस्तो मूल्य र विविध डिजाइनका कारण नेपाली बजारमा चिनियाँ सनग्लासको वर्चस्व देखिएको छ । सीमा जोडिएको देश भएको र सर्वसुलभ मूल्यका सनग्लास उपलब्ध हुने हुँदा बजारमा चीनबाट आयात बढ्ने गरेको व्यापारीहरूको भनाइ छ ।

भारत दोस्रो स्थानमा
भारतबाट पनि नेपालमा ठूलो परिमाणमा समानहरू आयात भइरहेका हुन्छन् । नेपालको आयातको ठूलै हिस्सा ओगटेको  भारत सनग्लास आपूर्तिका लागि दोस्रो ठूलो आपूर्तिकर्ता हो । भारतबाट पछिल्ला सात महिनामा करिब २७ लाखभन्दा बढी परिमाणमा सनग्लास आयात भएको छ । खुल्ला सीमा, कम ढुवानी खर्च र छिटो आपूर्ति हुने कारणले भारतबाट आयात सहज रहेको छ । आपूर्ति भएको परिणामको आयातित मूल्य दुई करोड २४ लाख ५० हजार रुपैयाँ हुन आउँछ ।

अन्य देशहरूको सीमित भूमिका
सनग्लास आयातमा इटालीबाट ८४ लाख ७६ हजार रुपैयाँबराबरको सनग्लास आयात भएको छ । टर्कीबाट १९ लाख ९४ हजार, थाइल्यान्डबाट १० लाख १८ हजार, संयुक्त राज्य अमेरिकाबाट ६ लाख ६९ हजार रुपैयाँबराबरको सनग्लास आयात भएका छन् । त्यस्तै, ब्राजिलबाट पाँच लाख २९ हजार रुपैयाँबराबरको सनग्लास आयात भएको पाइएको छ । अस्ट्रेलियाबाट एक लाख ७१ हजार, कतारबाट एक लाख चार हजार, इन्डोनेसियाबाट एक लाख १ हजार, संयुक्त अरब इमिरेट्सबाट ७७ हजार रुपैयाँबराबरको सनग्लास आयात भएको छ ।

त्यस्तै, जापान, जर्मनी, दक्षिण कोरिया जस्ता विकसित देशबाट आयात परिमाण न्यून भए पनि गुणस्तरीय र महँगा उत्पादन आउने गरेको देखिन्छ ।

कस्तो छ आघिल्ला वर्षहरूको तथ्यांक ?
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को माघसम्मको आयात र अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा विभिन्न देशबाट आउने सनग्लासमा फरक–फरक प्रवृत्ति देखिएको छ ।

सबैभन्दा ठूलो आपूर्तिकर्ता चीनबाट भने आयात घटेको देखिन्छ । अघिल्लोे वर्षको तुलनामा यस वर्ष ८.९३ प्रतिशतले घटेको छ । तर, भारतबाट आयातमा अत्यधिक वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३३९.६८ प्रतिशतले बढ्दै भारत दोस्रो ठूलो स्रोतका रूपमा उभिएको छ । यस्तै, कतारबाट ४,९२५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

इटाली (९५०.७२ प्रतिशत), बेलायत (९३२७.९६ प्रतिशत), हङकङ (९१७०.६४ प्रतिशत) र ब्राजिल (९१५२.१७ प्रतिशत) जस्ता देशबाट पनि आयातमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

अर्कोतर्फ, थाइल्यान्ड ५६.५३, संयुक्त राज्य अमेरिका ४.२५, स्पेन ३६.३८ र जापान ९७.७४ प्रतिशतले आयातमा तीव्र गिरावट आएको छ ।

बजार प्रवृत्ति : सस्तो उत्पादनको माग बढी
यो तथ्यांकले नेपाली बजारमा सस्तो र मध्यम मूल्यका सनग्लासको माग उच्च रहेको देखाउँछ । उपभोक्ताहरू ब्रान्डभन्दा मूल्य र डिजाइनमा बढी आकर्षित भएको देखिन्छ ।

विश्लेषकहरूका अनुसार, गर्मी मौसममा स्वास्थ्य सचेतना (आँखा सुरक्षा) बढ्दै गएसँगै सनग्लासको प्रयोग पनि बढ्दो क्रममा छ, जसले आयातलाई अझ बढाउन सक्ने संकेत देखिएको छ ।

के भन्छन् चिकित्सक ? 
आजभोलि सनग्लास फेसनको महत्त्वपूर्ण हिस्सा बनेको छ । मानिसहरूले आफ्नो स्टाइल र व्यक्तित्व देखाउन पनि प्रयोग गर्छन् । सनग्लास केवल स्टाइलका लागि मात्र होइन, आँखाको सुरक्षा, आराम र स्वास्थ्यका लागि अत्यन्त आवश्यक मानिन्छ ।

घाम धेरै तेज हुँदा आँखा पोल्ने, पानी आउने वा खुला राख्न गाह्रो हुने बिरामीलाई सनग्लासको प्रयोग गर्न सुझाव दिने गरेको नेत्र विशेषज्ञ डा. सविना श्रेष्ठले बताइन् ।

विशेषगरी सडकमा हिँड्दा वा मोटरसाइकल चलाउँदा सनग्लासले धुलो, हावा र साना कणहरूबाट आँखा जोगाउने हुँदा सनग्लासको प्रयोग गर्न सुझाव दिने गरको उनी बताउँछिन् । साथै, चम्किलो प्रकाशमा स्पष्ट देख्न मद्दत गर्ने तथा दीर्घकालीन रूपमा सनग्लास प्रयोग गर्दा आँखामा हुने क्षति कम हुने र दृष्टि सुरक्षित रहने नेत्र रोग विशेषज्ञको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *