थानकोटमा करिब १ अर्ब लागतमा प्रसुति अस्पताल बनाउन टेण्डर आह्वान, धराैटी रकम २ करोड ६० लाख
थानकोट ।
जर्मन विकास बैंक (केएफडब्लु)को सहायतामा चन्द्रागिरि नगरपालिका- ०४ थानकोट गोदाम चाैरनजिक निर्माण हुन लागेको प्रसूति तथा स्त्री रोग अस्पतालको निर्माण कार्यका लागि विद्युतीय बोलपत्र आह्वान भएको छ ।
मंगलबार गोरखापत्र दैनिकमा यसबारेमा सूचना जारी भएको हो ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले पनि यस बारेमा मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
यस निर्माण कार्यका लागि बोलपत्र पेश गर्दा २ करोड ६० लाख रुपैयाँ धराैटी राख्नुपर्ने बताइएको छ । बोलपत्र २६ अप्रिल २०२६ (बैशाख १०, २०८२) सम्म पेश गर्न सकिने सूचनामा उल्लेख छ । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल मातहत यो टेण्डर आह्वान भएको हो ।
चन्द्रागिरि नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकामा समान प्रकृतिका २५-२५ शय्याको अस्पताल निर्माणका लागि यो बोलपत्र आह्वान गरिएको हो ।
अत्याधुनिक प्रविधियुक्त सो अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत जर्मन विकास बैंक (केएफडब्लु)ले एक अर्ब रूपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।
अस्पताल निर्माणपश्चात काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दाका साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुग्ने अपेक्षा गरिएको छ ।
जर्मन विकास बैंक र नेपाल सरकारको संयुक्त लागत साझेदारीमा चन्द्रागिरि नगरपलिका वडा नं ४ थानकोट गोदामस्थित हालको थानकोट प्राथमिक अस्पतालसँगै निर्माण हुने अत्याधुनिक सुविधा सम्पन्न परोपकार मातृत्व तथा महिला स्वास्थ्य अस्पताल निर्माण गर्नको लागि २०७८ साल भाद्र ३१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चन्द्रागिरि नगरपालिका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि तथा जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झाैता ज्ञापन पत्रमा हस्ताक्षर सम्पन्न भइसकेको छ ।















