सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन मेडिकल काउन्सिलको निर्देशन

Thankot Times

थानकोट ।

नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन डाक्टरहरूलाई निर्देशन दिएको छ । 

काउन्सिलले सूचना निकालेर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा डाक्टरहरूले उपचार विधि, औषधि प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न भनेको छ । यस्ता सामग्रीका कारण बिरामीले आफैं औषधि प्रयोग गर्ने, गलत उपचार अपनाउने तथा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने भन्दै काउन्सिलले ध्यानाकर्षण गराएको हो । 

काउन्सिलले डाक्टर तथा स्वास्थ्यकर्मीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्दै मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यसम्बन्धी सूचना र परामर्श वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताअनुसार मात्र र चिकित्सकीय निर्णय सामाजिक सञ्जालको जानकारीका आधारमा नभई प्रत्यक्ष परीक्षण र प्रमाणित उपचार पद्धतिका आधारमा गर्नुपर्ने काउन्सिलले जनाएको छ । 

मापदण्ड पालना नगरेमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने काउन्सिलले चेतावनी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *