साफ महिला च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल श्रीलंका र भुटान समूह ‘ए’ मा

Thankot Times

थानकोट ।

भारतमा आगामी मे २५ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले च्याम्पियनसिपको समूह तालिका सार्वजनिक गरेसँगै नेपाल समूह ‘ए’ मा परेको हो ।

समूहमा नेपालसँगै श्रीलंका र भुटान छन् ।

आजै सार्वजनिक भएको तालिकाअनुसार, अर्को समूहमा भारत, बंगलादेश र माल्दिभ्स परेका छन् । यस संस्करणमा भने पाकिस्तानको सहभागिता नरहने भएको छ । दुवै समूहमा पाकिस्तान समावेश नगरिएको हो ।

प्रतियोगिता भारतमा आगामी मे २५ देखि जुन ६ सम्म हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल भारतको गोवामा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारदेखि प्रतियोगिताको तयारी सुरु गरिसकेको छ । राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले ३५ खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएको थिए ।

यस सम्बन्धमा बाह्रखरीले एन्फासँग जानकारी लिने क्रममा एन्फा प्रवक्त साहले विजेता बन्ने लक्ष्यका साथ टिम तयार पारिएको बताएका थिए । “हामीले एक महिनाअगाडि नै खेलाडीको नाम दर्ता गर्नुपर्ने हुन्छ । त्यो हामीले गर्‍यौँ । फेरि, नेपाली महिला टोली साफको उपविजेता हो,” उनले भने, “हामीले अब विजेता बन्ने उद्देश्यका साथ एक महिनाअगावै तयारी थालेका हौँ ।”

प्रवक्ता शाहले टिम तयारीका निम्ति राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग समन्वय नभएको पनि बताए । उनले भने, “हामीलाई विश्वास छ, राखेप यस्तो विषयमा सकारात्मक हुनेछ । यदि, स्वीकृति दिएन भने बाँकी प्रक्रियाको बारेमा केही समय सोच्नेछौँ ।”

एन्फा राखेपको निलम्बनमा परेका कारण महिला साफ च्याम्पियनसिपमा सहभागिता अनिश्चित बनेको थियो ।

महिला टोलीको तयारी कसरी गर्ने भन्ने विषयमा अन्योल सिर्जना भएको थियो । खेलाडीले पनि सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए । राखेप र एन्फाबीचको टकरावका कारण नेपालले यसअघि फिफा सिरिज अन्तिम समयमा गुमाउन पुगेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *