एनआरटी र मच्छिन्द्र क्लब इलाम गोल्डकपकाे उपाधिका लागि भिड्ने
थानकोट ।
न्यूरोड टिम (एनआरटी) इलाम गोल्डकप फुटबल प्रतियाेगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा रोलिङ क्लबलाई ४–३ गोलअन्तरले हराउँदै एनआरटी फाइनलमा पुगेको हो ।
त्यसअघि एनआरटीका लागि विज्ञान खड्का तथा रोलिङ क्लबका तर्फबाट फागुराम चौधरीले गोल गरेका थिए ।
यस खेलको म्यान अफ दी म्याच एनआरटीका गोलकिपर विशाल सुनवार घोषित भए । उनले आठ हजार एक नगद र ट्रफि प्राप्त गरे ।
विजेता टोली एनआरटीले भोलि १२ वैशाखमा उपाधिका लागि मच्छिन्द्र फटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा आठ टोली सहभागी थिए ।














