आईसीसी क्रिकेट विश्वकप लिग-२: यूएईविरुद्ध नेपालको रोमाञ्चक जित
थानकोट ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)माथि रोमाञ्चक जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईमाथि अन्तिम ओभरमा आएर नेपालले डकवर्थ लुइस (डीएलएस) विधिको आधारमा ६ रनको जित निकालेको हो ।
डकवर्थ लेविस मेथडका आधारमा २५५ रनको लक्ष्य पाएको यूएई निर्धारित ३८ ओभरमा ८ विकेट गुमाउँदै २४८ रनमा समेटियो ।
यूएईका मुहम्मद शहदादले सर्वाधिक ६५ रन बनाए । ७२ बलको सामना गरेका उनले ४ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, खुजैमा तनवीरले २६ बलमा ४९ रनको विष्फोटक पारी खेले ।
यूएईका हरप्रित सिंहले ४० बलमा ४१ रन बनाए । त्यस्तै, आयंश शर्माले ३२ बलमा ३३ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले ।
९४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ५६ रन जोडे । गुल्शन झाले ३८ बलमा ४४ रन बनाए ।
यूएईका जुनैद सिद्दिक र अजय कुमारले समान दुई तथा खुजैमा तनवीर र हैदर अलीले समान एक विकेट लिए ।










