दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) अलराउन्डर वरियतामा उल्लेख्य सुधार गर्दै माथिल्लो स्थानमा पुगेका छन्।

आईसीसीले हालै अद्यावधिक गरेको वरियताअनुसार दीपेन्द्र १२ स्थान उक्लिँदै ३१औँ स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढेर १४८ पुगेको जनाइएको छ।

घरेलु मैदानमा सम्पन्न लिग २ शृंखलामा देखाएको प्रदर्शनका आधारमा उनको वरियता सुधार भएको हो। सो शृंखलामा उनले चार खेलमा दुई अर्धशतक र एक शतकसहित महत्वपूर्ण योगदान दिएका थिए। बलिङतर्फ पनि उनले चार विकेट लिएका थिए।

खेल प्रदर्शनका क्रममा उनले युएईविरुद्धको पहिलो खेलमा ७५ रन बनाउनुका साथै एक विकेट पनि हात पारेका थिए। ओमानविरुद्धको खेलमा ६० रनसहित दुई विकेट लिएका थिए। दोस्रो पटक युएईसँगको भेटमा उनले शतक प्रहार गरेका थिए भने ओमानसँगको अर्को खेलमा ३३ रन जोड्दै एक विकेट समेत लिएका थिए।

आईसीसीको हालको वरियता अद्यावधिकमा भने युएईविरुद्धको पहिलो खेलसम्मको प्रदर्शनलाई मात्र आधार बनाइएको जनाइएको छ।

यस्तै, टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत् रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *