एकदिवसीय अभ्यास शृंखलाः स्कटल्यान्डविरुद्ध नेपाल ‘ए’ विजयी

Thankot Times

थानकोट ।

नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ ।

बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३२ रन मात्रै बनायो ।

स्कटल्यान्डका फिन्ले म्याकक्रिएथले ५२ रनको इनिङ खेले । उनले ७३ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

ज्याक जार्विसले ४५, मार्क वाटले ३७ र म्याथ्यु क्रसले २२ रन बनाउँदा ब्रेन्डन म्याकमुलनले २१, ओलिभर डेविडसनले १७  र ज्यास्पर डेविडसनले अविजित १४ रन जोडे ।

नेपाल ‘ए’का राशिद खानले सर्वाधिक तीन विकेट लिए । शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान दुई लिँदा कुशल मल्लले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७७ रनको योगफल खडा गरेको थियो ।

नेपाल ‘ए’का देव खनालले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । उनले ६५ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

मयन यादवले ४५, सन्दीप जोराले ३४ र पवन सराफले ३१ रन बनाए । दिपक डुम्रे २३ रनमा अविजित रहँदा कप्तान अनिलकुमार साहले १८, बसिर अहमदले १७ र राशिद खानले अविजित १४ रन जोडे ।

स्कटल्यान्डका ब्रान्डली करी र सफ्यान सरिफले समान दुई तथा ओलिभर डेविडसन, ब्रान्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान एक विकेट लिए ।

अब नेपाल ‘ए’ले शुक्रबार अमेरिकाको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *