आईसीसी क्रिकेट विश्वकप लिग-२: आज नेपालले स्कटल्यान्डको सामना गर्दै
थानकोट ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाकाे पहिलो खेलमा मंगलबार स्कटल्यान्डको सामना गर्दै छ ।
नेपाल र स्कटल्यान्डबीचकाे खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
घरेलु टाेली नेपाल प्रतिद्वन्द्वी स्कटल्यान्डलाई हराउँदै शृंखलामा सुखद सुरुवात गर्ने याेजनामा छ । यता, स्कटल्यान्ड पनि जितका साथ शीर्षस्थानमा पुग्ने लक्ष्यमा छ ।
यसअघि नेपालले गत साता मात्रै ओमान र यूएईसँगको शृंखला खेलेको थियो । साे शृंखलामा तीन जित निकालेको नेपालकाे मनोबल उच्च छ ।
नेपालले विश्वकप लिग–२ का शीर्ष टोली अमेरिका र स्कटल्यान्डसँग २-२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपाललाई अमेरिका र स्कटल्यान्डसँगको यो शृंखला निकै महत्त्वपूर्ण छ ।
नेपालले शृंखलामा अब १२ खेल खेल्न बाँकी छ । घरेलु मैदानमा हुने अन्तिम शृंखलाका यी चार खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । लिग–२ शृंखलामा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुपर्ने चुनाैती नेपाललाई छ ।
अमेरिका र स्कटल्यान्ड लिग–२ काे शीर्षमा छ । अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकसाथ दोस्रो स्थानमा छ । नेपाल २४ खेलमा १८ अंक जोडेर सातौं स्थानमा छ ।










