स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान

Thankot Times

थानकोट ।

सरकारले विभिन्न छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।

ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार दरखास्त आह्वान गरेको हो ।

यी प्रतिष्ठानहरू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहत छन् । कुनै पनि राजनीतिक दलको सदस्य भएको व्यक्तिले उपकुलपति पदमा आवेदन दिन नपाउने समितिले स्पष्ट पारेको छ ।

समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेको हो ।

समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको जनाएको छ । उक्त कार्यविधि २०८३ वैशाख ३१ मा स्वीकृत भएको थियो ।

इच्छुक तथा योग्य व्यक्तिले सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । आवेदनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वेबसाइटमा उपलब्ध लिङ्कमार्फत कागजपत्र बुझाउनुपर्ने छ ।

कार्यविधि अनुसार उपकुलपति नियुक्तिको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट चिकित्सा शास्त्र विज्ञानको कुनै पनि विषयमा कम्तीमा स्नातकोत्तर तह हासिल गरेको हुनुपर्ने छ ।

त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय वा शिक्षण अस्पतलमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने छ साथै प्राध्यापक भएको वा स्वास्थ्यको सेवाको ११ औँ तह वा सोभन्दा माथिको पदमा कार्य गरेको अनुभवसहित कम्तीमा १० वर्षको प्राध्यापन गरेको अनुभव भएको व्यक्तिले पनि उपकुलपतिका लागि आवेदन दिन सक्ने छन् ।

त्यसबाहेक प्राज्ञिक संस्थाको नेतृत्वदायी कार्यालय प्रमुख रही उत्कृष्ट व्यवस्थापकीय सिप, क्षमता र कौशल प्रदर्शन गरेको र राजनीतिक दलको सदस्य वा दलगत जिम्मेवारीमा नभएको हुनुपर्ने छ । त्यसै गरी मान्यता प्राप्त जर्नलमा प्रथम लेखक भई कम्तीमा दुई वटा र सहलेखक भई कम्तीमा चार वटा वैज्ञानिक अनुसन्धानमूलक लेख प्रकाशन गरेको हुनुपर्ने हुन्छ ।

आवेदनको साथ सम्बन्धित व्यक्तिले आफूले आवेदन गर्न लागेको प्रतिष्ठानसँग सम्बन्धित पाँच हजार शब्दको सोचपत्र र रणनीतिक कार्ययोजना समेत पेस गर्नुपर्ने छ । समितिले उपकुलपतिमा छनोटका लागि आवेदकलाई विभिन्न सात वटा शीर्षकमा एक सय पूर्णाङ्क तोकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *