रास्वपाको महाधिवेशनः विष्ट काठमाडाैं, पोखरेल नुवाकोट, श्रेष्ठ धादिङ जिल्लामा खटिने
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै देशभरका संगठनात्मक गतिविधि सञ्चालन गर्न केन्द्रीय तहका नेताहरूलाई विभिन्न जिल्लामा जिम्मेवारीसहित परिचालन गरेको छ ।
पार्टीले वडा, पालिका, जिल्ला तथा प्रदेश तहका भेला र अधिवेशन सम्पन्न गराउने उद्देश्यसहित केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्चका सदस्य तथा विभागीय जिम्मेवारीमा रहेका नेताहरूलाई जिल्लागत जिम्मेवारी तोकेको जनाएको छ ।
रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ । सोही तयारीअन्तर्गत पार्टीले संगठनका सबै तहको अधिवेशन तालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार तदर्थ समिति गठन हुन बाँकी रहेका वडाहरूमा जेठ २ गते भेला सम्पन्न गरिएको थियो भने वैशाख २० गतेअघि गठन भएका तदर्थ समितियुक्त वडामा जेठ ३ गते अधिवेशन गरिएको जनाइएको छ । थप वडा अधिवेशन जेठ १६ गते आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी पालिका तहका भेला जेठ ९ गते तथा पालिका अधिवेशन जेठ १० र १७ गते सञ्चालन गरिनेछ । जिल्ला अधिवेशन जेठ २३ र २४ गते तथा प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भई असार १ गतेसम्म सम्पन्न गर्ने तालिका बनाइएको पार्टीले जनाएको छ ।
केन्द्रीय प्रतिनिधिहरूलाई संगठन विस्तार, भेला समन्वय र अधिवेशन व्यवस्थापनसम्बन्धी जिम्मेवारी दिइएको छ । वडा, पालिका वा जिल्लामा आवश्यक संरचना निर्माण नभएको अवस्थामा तदर्थ समिति गठन गराउने तथा अधिवेशन हुन नसकेका स्थानमा सहजीकरण गर्ने दायित्वसमेत प्रतिनिधिहरूलाई तोकिएको छ ।
पार्टीले वडा र पालिका तहमा न्यूनतम ३० प्रतिशत अधिवेशन सम्पन्न भए पनि माथिल्लो तहको अधिवेशन अगाडि बढाउन सकिने व्यवस्था गरेको जनाएको छ ।
जिल्लागत जिम्मेवारी बाँडफाँट गर्दा सम्भव भएसम्म सांसदहरूलाई आफ्नै जिल्लामा खटाइएको पार्टी स्रोतले जनाएको छ । मन्त्रीहरूलाई भने महाधिवेशन केन्द्रित जिम्मेवारीमा नराखिएको उल्लेख छ ।
जिम्मेवारी प्राप्त नेतामध्ये महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई गोरखा, सहमहामन्त्री विपिन आचार्यलाई दाङ, सचेतक क्रान्तिशिखा धिताललाई रोल्पा, प्रवक्ता मनिष झालाई धनुषा र सहप्रवक्ता रमेश प्रसाईलाई ताप्लेजुङको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी पूर्व उपसभामुख इन्दिरा रानामगर र पूर्व सचेतक निशा डाँगीलाई झापा तथा सांसद रञ्जु दर्शना लाई काठमाडौँको जिम्मेवारी तोकिएको छ ।
रास्वपा काठमाडाैं जिल्ला सभापति एवं सांसद् प्रदिप विष्टले गृह जिल्लामै समन्वयको भूमिका पाएका छन्, रास्वपा केन्द्रीय आर्थिक व्यवस्थपान विभाग उपप्रमुख टेकबहादुर पोखरेलले नुवाकोट जिल्लामा जिम्मेवारी पाउँदा रास्वपाका केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ धादिङ खटिने बताइएको छ ।










