टी-२० महिला अन्तर्राष्ट्रिय अभ्यास खेलः दोश्रो खेलमा पनि नेपालद्वारा मलेसिया पराजित
थानकोट ।
एसियन गेम्स खेल्ने तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ ।
आज बिहान भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितका लागि सम्झना खड्काले अविजित ३९,कविता कुवँरले १९ तथा सोनी पाख्रिनले १२ रन प्रहार गरे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो ।
मलेसियाका आइन्ना हमिजाह हाशिमले १७, धनुश्री मुहुननले १५ तथा नुर एरियाना नात्स्यले १२ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् ।
नेपालका लागि रुविना क्षेत्री, कविता कुँवर र रिया शर्माले २–२ विकेट लिए ।
यो नेपालको लगातार दोस्रो जित हो । नेपालले बुधबार मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।










