ललितपुरको गोदावरीमा ३२ करोडको लागतमा बहुउद्देश्यीय रंगशाला योजना अघि बढ्यो

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले ललितपुरको गोदावरीलाई आधुनिक खेल पूर्वाधारको केन्द्रका रूपमा विकास गर्ने तयारी थालेको छ ।

प्रदेश सरकारको लगानीमा गोदावरी नगरपालिका–१० टाहाखेलमा अत्याधुनिक बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको हो ।

महत्वाकांक्षी परियोजनाअन्तर्गत बागमती प्रदेश खेलकुद विकास परिषद्ले करिब ३२ करोड ४० लाख रुपैयाँ बराबरको बोलपत्र (टेन्डर) आह्वान गरेको छ ।

परिषद्ले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक रंगशाला निर्माण गरी प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार रंगशाला केबल खेल मैदान मात्र नभई युवालाई कुलतबाट जोगाउने, खेलकुदलाई व्यावसायिक बनाउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने परियोजनाका रूपमा अघि बढाइएको हो ।

उनका अनुसार परियोजनाले खेल पर्यटन प्रवर्द्धनसँगै स्थानीय तहमा रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउनेछ ।

परिषद्ले ‘सिंगल स्टेज टू–इन्भेलोप’ प्रक्रियामार्फत टेन्डर आह्वान गरेको हो । इच्छुक निर्माण कम्पनीहरूले आगामी जेठ २७ गतेसम्म विद्युतीय माध्यमबाट आवेदन दिन सक्नेछन् ।

परियोजनाअन्तर्गत फुटबलसहित विभिन्न खेल सञ्चालन गर्न मिल्ने स्तरीय मैदान निर्माण गरिनेछ । मैदानमा हरियो दुबो रोपिनुका साथै प्रभावकारी पानी निकास प्रणाली जडान गरिनेछ ।

त्यस्तै, सेन्थेटिक एथलेटिक्स ट्रयाक र आधुनिक आरसीसी प्यारापिटसमेत निर्माण गरिने योजना छ ।

खेलाडीहरूको सुविधालाई ध्यानमा राख्दै चेन्जिङ रुम, स्नान कक्ष र शौचालय निर्माण गरिनेछ । साथै रंगशाला सञ्चालनका लागि कार्यालय कक्ष, बैठक हल र स्टोर रुमको व्यवस्था हुनेछ ।

परियोजनाको अर्को विशेषता प्यारापिटमुनिको खाली स्थानको बहुउपयोग हो । सो क्षेत्रलाई जिम हल, इन्डोर खेलकुद केन्द्र वा व्यावसायिक प्रयोजनका लागि सटरका रूपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिने तयारी छ ।

दर्शक र खेलाडीहरूको सहज आवतजावतका लागि पार्किङ क्षेत्र तथा व्यवस्थित पहुँचमार्ग निर्माण गरिनेछ । रंगशाला परिसरलाई सुरक्षित बनाउन घेराबार र आकर्षक प्रवेशद्वार निर्माण गरिने योजना पनि समेटिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ