आईसीसी क्रिकेट विश्वकप लिग-२: कीर्तिपुरमा नेपालले बनायो हालसम्मकै उच्च स्कोर
थानकोट ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको घरेलु टोलीले अमेरिकाविरुद्ध निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रनको योगफल खडा गरेको हो । यो नेपालले त्रिवि क्रिकेट रंगशालामा एकदिवसीय अन्तर्राष्ट्रियमा प्रस्तुत गरेको सबैभन्दा ठूलो लक्ष्य हो ।
यसअघि घरेलु टोलीले तीन वर्षअघि सन् २०२३ मा ओमानविरुद्ध ३१० रन बनाउँदै कीर्तिमानी योगफल खडा गरेको थियो । साथै, त्रिविमा एकदिवसीय अन्तर्राष्ट्रियमा खडा गरिएको दोस्रो ठूलो योगफल हो । नेपालको निम्ति इशान पाण्डेले ८४ रनको अर्धशतकीय पारी खेले ।
इशानले ८३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो । गत सोमबार मात्रै लिग–२ अन्तर्गत सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा उनले पहिलो अर्धशतक प्रहार गरेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५९ रन बनाउँदै दोस्रो अर्धशतक प्रहार गरे ।
दीपेन्द्रले ३५ बलमा समान चार चौका र छक्का प्रहार गरे । उनले पाँचौँ विकेटको निम्ति गुल्सन झासँग ४७ रनको साझेदारी गरेका थिए । कप्तान रोहित पौडेलले ४६ रन बनाए । ओपनर आशिफ शेखले ४३, अर्का ओपनर आशिफ शेखले २९ रन, अविजित रहेका आरिफ शेखले १८ बनाउँदा गुम्सन झाले १५ रन बनाए ।
अमेरिकाका शुभम रञ्जानेले तीन विकेट लिँदा रुसिल उग्राकार र मिलिन्द कुमारले समान एक विकेट लिए । यो लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल समेत हो । अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
हाल नेपाल तालिकाको पाँचौँ स्थानमा छ । नेपालले २७ खेल खेल्दा १० जितसहित २२ अंक जोडेको छ । घरेलु टोलीको दुई खेल भने रद्द भएको थियो । यता, अमेरिका भने पहिलो खेलको बदला लिँदै तालिकामा अंक दुरी बढाउने लक्ष्यमा हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको पाहुना टोलीले २७ खेलमा १९ जित र आठ हारसहित ३८ अंक बनाएको छ ।
समान ३८ अंक बनाएको स्कटल्यान्डलाई रनरेटका आधारमा पछाडि पार्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो । आजको खेलमा नेपाललाई पराजित गर्दै स्कटल्यान्डसँग अंक दुरी बढाउने अवसर अमेरिकासँग छ । टोली यसअघि भएको पहिलो खेलमा नेपालसँग नौ विकेटले पराजित भएको थियो ।










