एसियन गेम्स क्वालिफायर्सः दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

Thankot Times

थानकोट ।

सिंगापुरमा हुने एसियन गेम्स क्वालिफायर्स खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

आइतबार (जेठ १०) मुख्य प्रशिक्षक स्टुअर्ट लले क्वालिफायर्सका निम्ति दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा पछिल्लो समय एकदिवसीय र ट्वान्टी–२० का निम्ति फरक–फरक कप्तान चयन गरिएको छ । यसमा ऐरीलाई कप्तान यथावत् राखिएको छ । टोलीमा कुशल मल्ल, शाहब आलम, शेर मल्ल र सन्दीप जोराले पुनरागमन गरेका छन् ।

हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा रहेका गुल्सन झा, ललितनारायण राजवंशी र इशान पाण्डे टिममा अटाएनन् ।

क्वालिफायर्समा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालले मलेसिया, कतार र चीनलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।

नेपालले समूह चरणको पहिलो खेलमा यही मे ३१ मा चीनको सामना गर्नेछ । त्यसपछि नेपालले जुन २ मा कतारसँग र तेस्रो खेलमा जुन ४ मा मलेसियाविरुद्ध खेल्ने तलिका छ ।

समूह ‘बी’मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ।

प्रतियोगिता ‘लिग कम नकआउट’ प्रणालीमा हुनेछ । हरेक समूहबाट दुई शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । र, ती चार टोली जापानको आइची नागोयामा यस वर्ष हुने एसियन गेम्सका निम्ति छानिनेछन् ।

नेपाली टोली–
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, आरिफ शेख, करण केसी र शाहब आलम ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ