आज बुधबारको मौसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज हावाहुरीको सम्भावना छ । केही -भूभागमा वर्षाको सम्भावना रहँदा केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो ।
कोसीदेखि गण्डकी प्रदेशसम्म हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा अपराह्नपछि हावाहुरीको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
वाग्मती र गण्डकी प्रदेशका तराईका भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना छ ।
विभागले राति मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको बताएको छ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।
कोसी, पाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले प्रस्ट पारेको छ ।












