विदेश पठाउने भन्दै ठगीमा संलग्न सतुङ्गलका एकसहित ६ जना पक्राउ

Thankot Times

थानकोट ।

विदेश पठाइदिने भन्दै ठगीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका ४ का ४५ वर्षीय रामबहादुर आलेमगर छन् ।

तारकेश्वर नगरपालिका ७‚ काठमाडौँ बस्दै आएका उनलाई आइतबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तारकेश्वर नगरपालिका ८ बाट पक्राउ परेका आलेमगरले चारजना पीडितलाई क्यानडा पठाउने आश्वासन दिएका थिए ।

चार जनाबाट २९ लाख ५८ हजार रुपैयाँ रकम संकलन गरेपछि उनी सम्पर्कविहीन बनेको आरोप लगाउँदै पीडितले प्रहरीमा उजुरी दिएका थिए । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आलेमगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा लहान नगरपालिका ६‚ सिरहाका ३२ वर्षीय आशिक कार्की पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ६‚ काठमाडौँबाट पक्राउ परेका कार्कीले तीन जनालाई न्युजिल्यान्ड पठाउने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

यस्तै, यूके पठाउने भन्दै १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँ टोखा नगरपालिका ४ का ७९ वर्षीय लोकबहादुर श्रेष्ठ, अमेरिका पठाउने भन्दै १० लाख ठगी गरेको आरोपमा टोखा नवर ३ की ४१ वर्षीया तुलसा पुन मगर, यूएई पठाउने भन्दै १० लाख ठगी गरेको आरोपमा तानसेन नगरपालिका ७‚ पाल्पाका ४८ वर्षीय कृष्णप्रसाद पौडेल र सर्बिया पठाउने भन्दै ६ लाख ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका ११‚ सतुङ्गलका २९ वर्षीय युवालाई समेत पक्राउ गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *