आजदेखि थानकोट-चित्लाङ सडक दुई साता बन्द

Thankot Times

थानकोट ।

थानकोट-चित्लाङ सडकमार्गमा (गणेशमान सिंह मार्ग) आज आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ ।

यो सडक निर्माण सुधारका क्रममा जेठ १७ गतेदेखि ३० गतेसम्म अर्थात् १४ दिनसम्म सवारी साधनको आवागमन बन्द गरिने भएको हो ।

निर्माण कम्पनीबाट सडक ढलान, कालोपत्र, टेवा पर्खाल निर्माणलगायतका निर्माण कार्य गर्न सवारी साधनको आवागमन बन्द गर्न लागेको सडक डिभिजन काठमाडौंले जनाएको छ ।

थानकोट–चित्लाङ सडक निर्माण सुधार कार्य सञ्चालन भइरहेको र उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुँदै सवारीसाधनहरु आवतजावत गर्दा निर्माण कार्यमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम समेत बढ्ने भएकोले सवारी आवागमन बन्द गरेर काम गर्न लागेको सडक डिभिजन काठमाडौंका इन्जिनियर पुरुषोत्तम भण्डारीले जानकारी बताए । ‘कालोपत्र र ढलान गरी करिब साढे सात किमि सडक खण्डमा काम हुने छ,’ उनले भने ।

टेवा पर्खाल निर्माण, कालोपत्रे र ढलान हुने भागमध्ये मकवानपुरतर्फ करिब १९ सय मिटर र बाँकी काठमाडौंतर्फको खण्डमा काम हुने छ । निर्माण कम्पनीमार्फत तीन–चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर ढलान गरिने छ । सडक स्तरोन्नतिका क्रममा काठमाडौंको पानीघट्टदेखि मकवानपुरको चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रुपमा सडक बन्द हुने भएको छ । उक्त अवधिमा सवारी आवागमनका लागि वैकल्पिक बाटो प्रयोग गर्ने गरी आवश्यक सहजीकरण गरिदिन थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकालाई सडक डिभिजन काठमाडौंले आग्रह गरेको छ ।

शनिबारदेखि हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ सडकमा पनि सवारी साधन आउजाउ गर्न रोक लगाइएको छ । कुलेखानी–फाखेल सडक खण्डको महालक्ष्मी खोलामा निर्माणाधीन पुल र पुलको पहुँच मार्गमा ढलान गर्नुपर्ने भएकाले एक महिनाका लागि उक्त सडकमा सवारी साधन आउजाउ गर्न रोक लगाएको हो । हेटौंडाबाट काठमाडौं आउजाउ गर्ने छोटो दुरीको वैकल्पिक मार्ग कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खुला रहेको छ । छोटो दुरी भएर आउजाउ गर्ने सवारी साधनहरु कुलेखानी–सिस्नेरी–दक्षिणकाली प्रयोग गर्नु पर्ने हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ