तीनथानास्थित वडाअध्यक्ष शैक्षिक विकास कोषद्धारा २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
थानकोट।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित वडाअध्यक्ष शैक्षिक विकास कोषले चालु शैक्षिक वर्षका लागि २४ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।
कक्षा ११ र १२ मा अध्ययनरत उनीहरूका लागि वर्षभरको सम्पूर्ण शैक्षिक शुल्क एवं स्टेशनरी सामाग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको कोषका अध्यक्ष मोहनहरि आचार्यले जानकारी दिए ।
कोषसँग समझदारी गरेका विभिन्न १३ वटा माध्यमिक विद्यालय (दश जोड २) तथा क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि कोषले छात्रवृत्ति प्रदान गर्ने नीति लिए अनुसार सो उपलब्ध गराइएको हो।
कार्यक्रमका दाैरान कोषका संस्थापक संरक्षक तथा चन्द्रागिरि वडा नं. १५ का पूर्व वडाअध्यक्ष उत्तमबहादुर राउतले छात्रवृत्तिको महत्व तथा विद्यार्थीको दायित्व विषयमा प्रकाश पारेका थिए ।
कोषका अध्यक्ष आचार्यका अनुसार २०७४ सालको स्थानीय तहको चुनावमा निर्वाचित चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाअध्यक्ष उत्तम बहादुर राउत तथा सदस्य माधवकुमार केसीले मासिक पारिश्रमिक जम्मा गरि शुरु भएको कोषमा अहिले दैनिक एक रुपैयाँ दान गर्ने साधारण सदस्य तथा न्यूनतम रु. ११ हजार तथा विशेष सहयोगबापत देश तथा परदेशबाट आजीवन सदस्यहरुको आर्थिक सहयोगमा यो छात्रवृत्ति कार्यक्रम संचालन भइरहेको छ । कोषले हरेक वर्ष चन्द्रागिरि नगरमा वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता संचालन गर्दै आएको छ।
हालसम्म ८० जना विद्यार्थीलाई मा.वि. सम्म तथा १३२ जना विद्यार्थीलाई कक्षा ११/१२ मा छात्रवृत्ति प्रदान गर्ने कार्य सम्पन्न भइसकेको कोषले जनाएको छ ।
कोषले छात्रवृत्ति प्राप्त गरि कक्षा १२ उत्तीर्ण हुने विद्यार्थीहरूका लागि छोटो अवधिको व्यवसायिक तालिम तथा उद्यमशीलता तलिम संचालन गर्ने तयारी गरिरहेको समेत छात्रवृत्ति वितरण कार्यक्रममा जानकारी दिइयो ।












