बर्डफ्लुको ‘हटस्पट’ बन्यो काठमाडौं उपत्यका, कीर्तिपुरमा हजाराैं पन्छी नष्ट गरियो, चन्द्रागिरिपनि जोखिममा

Thankot Times

थानकोट ।

हाल काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा बर्डफ्लुको हटस्पट बनेको छ।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार हाल काठमाडौं, ललितपुर र भक्तपुरमा बर्डफ्लु संक्रमणको हटस्पस्ट बनेको हो। काठमाडौंमा चन्द्रागिरि, तारकेश्वर तथा कीर्तिपुर ललितपुरमा गोदावरी, महालक्ष्मी तथा ललितपुर महानगरपालिकामा बर्डफ्लु देखिएको उनले जानकारी दिए।

भक्तपुरमा चाँगुनारायण, सुर्यविनायक र भक्तपुरमा अन्य क्षेत्रको तुलनामा बढी देखिएको उनले जानकारी दिए।

केही साताअघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्डफ्लुपछि महोत्तरी, बारा, चितवन हुँदैपछि उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्डफ्लु फैलिएको छ ।काठमाडौं बाहिर हाल चितवनमा मात्रै बर्डफ्लु रहिरहेको उनले जानकारी दिए।

‘बर्डफ्लु लागिसकेपछि उपचार  र प्रभावकारी खोप छैन’ डा दाहालले भने- ‘देखिएकै स्थानमा त्यस्ता पशुपन्छी तथा जनावरको नष्ट गर्नुको विकल्प नभएकोेले त्यसै अनुसार काम भइरहेको छ।’

विभागले  रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट  गरेको थियो। लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी मात्रामा बर्डफ्लु प्रभावित थिए । सात लाख अण्डा र एक सय ८३ टन दाना नष्ट  गरिएको विभागले जनाएको छ।

बर्डफ्लु  नेपालमा सर्वप्रथम मानिसमा सन् २०१९ मा देखिएको र संक्रमितको मृत्यु पनि भइसकेको छ। विश्वका विभिन्न मुलुकमा विभिन्न समयमा बर्डफ्लु देखिदैं आएको  तथा  काठमाडौंमा नै बर्डफ्लुका कारण मानिसको मृत्यु भइसकेको कारण काठमाडौं बासीहरुलाई सजग रहन सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको सुझाव छ।

पशुपन्छीको सम्पर्कमा रहने कृषक,ढुवानीकर्ता,बेच्ने व्यक्तिहरु झनै बर्डफ्लु संक्रमणको उच्च जोखिमा रहेको उनले बताए। यी क्षेत्रमा कार्यरतहरुलाई सुरक्षित भएर काम गर्न उनको सुझाव समेत छ । बर्डफ्लु लागिसकेपछि संक्रमितमध्ये कम्तीमा ५० प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको यो उच्च घातक रोग भएको डा पुनको दाबी छ। सरकारी तवरबाट पनि बर्डफ्लु सम्बन्धि विभिन्न जनचेतना निरन्तररुपमा फैलाउन आवश्यक रहेको डा पुन बताउँछन्।

बर्डफ्लु के हो, कसरी सर्छ ?

बर्डफ्लु पंक्षीहरूमा लाग्ने अति सङ्क्रामक रोग हो। इन्फ्लुएन्जा ‘ए’ भाइरसको कारणले कुखुरा, हाँस, टर्कीजस्ता घरपालुवा तथा जङ्गली चराहरूमा यो रोग फैलिन्छ।नेपालमा हालैका दिनहरूमा बर्डफ्लुको प्रकोप (विशेषगरी कोशी प्रदेशबाट सुरु भएर काठमाडौं उपत्यकासहित १० जिल्लामा) फैलिएको छ र द्रुत गतिमा यसलाई नियन्त्रण गर्ने आकस्मिक अभियानहरू संचालन भइरहेका छन्।

सर्ने माध्यमपंक्षीबाट पंक्षीमा 
सङ्क्रमित चराको र्याल, सिँगान, दिसा (सूली), दाना, अण्डा तथा दुषित पानीको माध्यमबाट अर्को चरामा द्रुत गतिमा सर्छ।

मानिसमा सर्ने जोखिम
सङ्क्रमित पंक्षीको मासु वा अण्डा राम्ररी नपकाई खाएमा, वा सङ्क्रमित पंक्षीको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा पनि सर्न सक्छ।

बर्डफ्लुका लक्षणहरू 

  • पन्छीमा देखिने लक्षण
  • सुस्त हुने, दानापानी खान छोड्ने र प्वाँख फुलाउने।
  • अण्डा उत्पादनमा एक्कासि कमी आउने।
  • कुखुराको टाउको, सिउर र लोती सुन्निने वा निलो रङको हुने।
  • स्वाँ–स्वाँ गर्ने, श्वास फेर्न गाह्रो हुने र मृत्यु हुने।
  • मानिसमा देखिने लक्षण
  • उच्च ज्वरो आउने र खोकी लाग्ने।
  • सास फेर्न गाह्रो हुने वा निमोनियाको समस्या देखिने।
  • मांसपेशी, घाँटी र पेट दुख्ने।
  • अत्यधिक थकान महसुस हुने, बान्ता आउने वा पखाला लाग्ने।

बच्ने उपायहरू 

  • कुखुरा वा हाँसको मासु सेवन गर्दा ७० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा राम्ररी पकाएर मात्र खानुहोस्।
  • आधा पाकेको मासु र काँचो अण्डा नखानुहोस्।
  • मरेका वा बिरामी चराहरू नछुनुहोस् र तिनको सम्पर्कबाट टाढै रहनुहोस्।
  • फार्म वा पन्छीशालामा काम गर्दा पन्जा, मास्क र विशेष पोशाकको प्रयोग गर्नुहोस्।
  • फार्मभित्र बाहिरी मानिसहरूलाई प्रवेश नदिनुहोस्।कुखुराजन्य वस्तुहरू चलाइसकेपछि साबुनपानीले राम्ररी हात धुनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *