‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो भन्ने चेतले प्रतिवाद गर्नुपर्छ’- महेश बस्नेत
थानकोट ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेपछि एमाले सचिव महेश बस्नेतले टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले कुनै पनि व्यक्तिमाथि कारबाही अघि बढाउनुअघि तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने उल्लेख गरेका छन् । उनले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित नहुने धारणासमेत व्यक्त गरेका छन् ।
उनले एमालेका नेता–कार्यकर्ता तथा समर्थकलाई यस्ता घटनाप्रति सचेत रहन आग्रह गरेका छन्।उनले कुनै पनि व्यक्तिमाथि हुने अन्यायले भविष्यमा समग्र राजनीतिक प्रणालीमाथि नै असर पार्न सक्ने भएकाले त्यसको लोकतान्त्रिक ढङ्गले प्रतिवाद गर्न आवश्यक रहेको बताए ।
‘एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका भन्ने खबर सुन्नमा आएको छ। कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ। तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन। एमाले पंक्तिले पनि यसलाई केवल एउटा व्यक्तिसँग सम्बन्धित घटनाका रूपमा होइन, लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक छ। ‘कुखुरा मर्यो’ भन्दा पनि ‘श्याल पल्कियो’ भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ, किनकि आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ।’ उनले लेखेका छन् ।










