कांग्रेस छोडेर रास्वपा पुगेका गाउँपालिका अध्यक्षको पद चट् !
थानकोट ।
नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद स्वतः रिक्त भएको छ।
निर्वाचन आयोगले सूचना जारी गर्दै बुढा निर्वाचित भएको पद रिक्त भएको जानकारी दिएको हो। नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीका अनुसार बुढाले नेपाली कांग्रेस त्याग गरी अर्को दलमा प्रवेश गरेपछि पार्टीले आवश्यक प्रक्रिया पूरा गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो।
निर्वाचन आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेर आयोगमा जानकारी गराएको थियो।
गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा गत जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। राजनीतिक यात्राका क्रममा उनी २०५७ सालमा माओवादी आन्दोलनमा सक्रिय भएका थिए। त्यसपछि एमाले हुँदै स्थानीय तह निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। पहिलो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका बुढा दोस्रो पटक भने एक हजार ७ सय ७५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोराको जानकारी प्राप्त भएपछि आयोगको मिति २०८३ असार ८ गतेको निर्णयअनुसार उनको पद स्वतः रिक्त भएको जनाएको छ।
यससम्बन्धी सूचना आयोगले आजको गोर्खापत्र दैनिकमार्फत सार्वजनिक गरेको छ। राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सर्वसाधारणको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ।











