बर्डफ्लु प्रकोप बढ्दो, कीर्तिपुर र चन्द्रागिरि पनि ‘हटस्पट’ क्षेत्र, व्यवसायी मारमा

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलँदै गएको छ।

काठमाडौं उपत्यका बर्डफ्लुको ‘हटस्पट’ बनेको पशु सेवा विभागका निर्देशक डा. उमेश दाहालले बताए ।

काठमाडौंका चन्द्रागिरि, तारकेश्वर र कीर्तिपुर नगरपालिका, ललितपुरका गोदावरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा धेरै संक्रमण देखिएको उनले जानकारी दिए । “खुला स्थान तथा चराचुरुंगी धेरै हुने ठाउँमा संक्रमणको जोखिम देखियो, साथै अव्यवस्थित फार्ममा बढी संक्रमण पाइएको छ,” दाहालले भने ।

बर्डफ्लुको प्रभावकारी उपचार र खोप नभएको उनले बताए । “त्यसैले फ्लु रोक्ने प्रभावकारी उपाय भनेकै नष्ट गर्नु हो,” उनले भने ।

किसानले पालेका मध्ये लेयर्स र स्थानीय जातका कुखुरा बढी मात्रामा बर्डफ्लु प्रभावित भएको विभागले जनाएको छ ।

फार्म वरपर जंगली चराचुरुंगी बस्ने ठूला रुख हुनु, सिमसार क्षेत्रनजिक पोल्ट्री फार्म सञ्चालन गरिनु, जैविक सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना नहुनु, फार्ममा बाहिरी मानिस तथा सवारीसाधनको अनियन्त्रित प्रवेशजस्ता कारणले संक्रमण फैलन सहयोग गरेको पाइएको विभागले जनाएको छ ।

कसरी अपनाउने सर्तकता ?
पन्छीसँग निकटमा रहने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छ । बिरामी वा मरेका पन्छी (कुखुरा, हाँस, परेवा, काग आदि)लाई खाली हातले छुनु हुँदैन ।

कुखुरा फार्ममा काम गर्दा अनिवार्य रूपमा पन्जा, मास्क, एप्रोन र बुट जुत्ताको प्रयोग गर्नुपर्छ । काम सकिएपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । घरपालुवा पन्छीलाई जंगली चराको सम्पर्कमा आउन दिन नहुने विभागले जनाएको छ ।

पन्छीजन्य मासु र अन्डालाई राम्ररी पकाएर मात्र खानुपर्छ । काँचो वा कम पाकेको अन्डा वा मासु खानु हुँदैन । काँचो मासु काट्न प्रयोग गरिएको चक्कु र अचानो तातो साबुनपानीले राम्ररी सफा गर्नुपर्छ ।

पशुपन्छीबाट संक्रमित हुन सक्ने सम्भावना भएकाले उमालेको दूध मात्र सेवन गर्नुपर्छ । पन्छी वा मासु छोएपछि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचीमिची हात धुनुपर्छ । चराचुरुंगी धेरै हुने स्थानमा जाँदा मास्क लगाउनुपर्ने चिकित्सक सुझाव दिन्छन् ।

तस्बिरमा कीर्तिपुरमा पन्छी नष्ट गरिँदै । स्रोतः वीरेन्द्र शाक्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *