फिफा विश्वकप फुटबल २०२६: नर्वे र फ्रान्स नकआउट चरणमा प्रवेश
सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो ।
खेलको ४३औं मिनेटमा मार्कस मार्कस होल्मग्रेन पेडरसनले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए ।
५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए ।
दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन् ।
२८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको थिएन ।
जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ ।
समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।
नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।
दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन् ।
यस्तै, विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन । जोर्डन अल्जेरियासँग २–१ ले पराजित भयो ।
जोर्डनका लागि खेलको ३६औँ मिनेटमा निजार अल–रशदानले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६९औँ मिनेटमा अल्जेरियाका नाधिर बेनबोउली र ८२औँ मिनेटमा अमाइन गौइरीले गोल गरे ।
समूह ‘जे’ मा अल्जेरिया ३ अङ्कसहित तेस्रो स्थानमा छ । साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ । त्यस्तै समान ३ अङ्क रहेको अस्ट्रिया दोस्रो स्थानमा छ ।
पहिलो पटक विश्वकप खेलेको जोर्डन अङ्कविहीन छ । विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे पोर्चुगल र उज्बेकिस्तानले खेल्दैछन् ।










