प्रमाणपत्र बिनै चिकित्सक बनेर उपचार गरेको आरोपमा चन्द्रागिरिबाट एकजना महिला पक्राउ

Thankot Times

थानकोट ।

चिकित्सकको उपाधि दुरुपयोग गर्दै गैरकानूनी रूपमा आधुनिक चिकित्सा सेवा प्रदान गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा चिकित्सकीय अभ्यास गरिरहेको अवस्थामा ४७ वर्षीया चेतन ए.एम. (पौडेल) विरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार नेपाल मेडिकल काउन्सिल बाँसबारीले गरेको अनुगमनका क्रममा पौडेलले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई चिकित्सकको उपाधि प्रयोग गरेको तथा बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिबाट निदान र उपचारमा संलग्न रहेको पाइएको थियो।

अनुगमनका क्रममा बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसमेत फेला परेको काउन्सिलले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलले तयार पारेको छानबिन प्रतिवेदनसहितको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान गरिएको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले असार ९ गते मातातिर्थबाट पौडेललाई पक्राउ गरेको हो।

पक्राउ परेकी पौडेल मातातीर्थकै स्थायी बासिन्दा हुन्।

प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाज सम्बन्धी कसूर’ मा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा कानुनी प्रक्रिया पूरा नगरी चिकित्सकीय अभ्यास गर्नु गम्भीर अपराध भएकाले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई थप कडा बनाइनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *